करोडौंसहित पक्राउ ६ जुवाडेबारे सर्वोच्चमा बहस

करोडौंसहित पक्राउ ६ जुवाडेबारे सर्वोच्चमा बहस

काठमाडौंको महाराजगन्जबाट ठूलो रकमसहित समातिएका ‘हाइप्रोफाइल’ जुवाडे समूहका ६ जनालाई आज प्रहरीले सर्वाेच्च अदालत उपस्थित गराएको छ ।
उनीहरूलाई हिरासतमै राखेर कारबाही अघि बढाउने या बाहिर बसेर मुद्दा लड्ने सुविधा दिने भन्ने विषयमा आज सर्वोच्चका न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासमा बहस हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको टोलीले पक्राउ गरेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए । जुवाडेहरू बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन आइतबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
उनीहरुले तिहारमै छुट्ने योजनाका साथ सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। तर प्रहरीले अदालतमा उपस्थित गराएर पनि उनीहरु छुट्न सकेका थिएनन्। त्यहीकारण जुवाडेहरुको तिहार प्रहरी हिरासतमै बितेको हो।
महाराजगन्जको साम्बाला होटेलपछाडि विक्रम गौतमको घरमा सञ्चालित जुवाको खालमा प्रहरीले शनिबार राति छापा मारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित २५ जनालाई २ करोड ६७ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो।

सम्बन्धित खवर