भाइ टिका कता फर्केर लगाउने ? साइत ११ बजेर ५५ मिनेटमा, आजै गोवर्धन पूजा पनि

भाइ टिका कता फर्केर लगाउने ? साइत ११ बजेर ५५ मिनेटमा, आजै गोवर्धन पूजा पनि

तिहारको रौनक उत्कर्षमा छ । इन्द्रेणीको सातै रङ्गको प्रतिक टिका, कहिल्यै न ओइलाउने सुपारी फुलका मालाहरु, अमिलो रसिलो भोगटे तथा बिमिरो लगायतका फलहरु, झिलीमिलि बत्तिहरु अनि झिल्केमिल्के कागज, कपडा तथा प्लाष्टिकबाट बनेका तोरणका सजावटहरु ।

आजको भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा रहेको छ । यस शुभ साइतमा दाजू–भाइहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भई दाजू–भाइहरूलाई टिका लगाई शुभाशिष दिई शुभसगून ख्वाउनु उत्तम हुन्छ ।

काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरियो आजको पालो दाजुभाईको पूजा गर्ने । स्वागत छ दाजू–बहिनी, दिदि–भाइहरूको आत्मिय चाड, भातृद्वितिया, अर्थात् भाईटिकामा । निधार रङ्गाउने हातहरु छन् या रङ्गाएका यादहरु मात्र छन् या अलि फरक मेसो छ यस वर्ष ? जे छ, जहाँ हुनुहुन्छ अनि जे गर्दै हुनुहुन्छ भाईटिकाको यस पावन दिनको कृपाले सबै दिदी–बहिनी दाजू–भाइको कल्याण होस् ।

विहान सबेरैदेखि घर–घरमा चहलपहल शुरुभइसक्यो होला, दिदीबहिनीहरु दाजूभाइलाई टिका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजुभाई आउने प्रतिक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ?

सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।

भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।

दिदी–बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजूभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजूभाइहरु आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्नकालागि भूँईमा चकटि ओछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल–पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ ।

शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टिका लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाईदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन् ।

आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदैछ । आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ–आफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । यस महान पर्व तिहारको आज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ । दशैंलाई विस्तारै विदा गरेर तिहारको रमाईलोमा लुटपुटिदै गर्दा तिहारको झटपट विदाईले साह्रै नरमाईलो पनि हुन्छ । पर्वीय विदाहरू सक्किएर अब विद्यालयहरू सूचारु हुन्छ, कार्यलयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिनथाल्दछ । हिउँदका छोटा दिनहरु हुर्किंदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ ।

काग, कुकुर, गाई, गोरु अनि देउँसे भैलेकाका आर्शिवाद हामीलाई लागोस्, वर्षभरि खुशीका प्रकाशहरु आँगनमा फैलिरहोस अनि माया प्रेम अनि सहभाव गहिरिँदै जाओस् ।

गोवर्धन पूजा पनि आजै

आज गोबर्धन पूजा । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ ।

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलाई ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान श्री कृष्णसंग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोबरधन पर्वतको पूजाआजा गर्दा गाईको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।

गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलाई जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।

प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरकालागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ ।
यो सामग्री हाम्रो पात्रोबाट लिइएको हो

सम्बन्धित खवर