निवर्तमान सभामुख कृष्णबहादुर महराको तिहार पनि हिरासतमै बित्ने भएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न कोशिस गरेको र नमान्दा कुटपिट गरेको आरोप लागेका महरामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप भएपछि उनको तिहार पनि हिरासतमै बित्ने पक्का भएको हो ।
उनको दसैं हिरासतमै बितेको थियो। रोशनी शाहीले उजुरी दिएपछि उनलाई महाष्टमीको दिन प्रहरीले पक्राउ गरेको थियो।
अब उनीमाथिको अनुसन्धान कात्तिक १४ गतेसम्म सकिसक्नुपर्छ।
शुक्रबार नै उनको अनुसन्धान गरेर सरकारी वकिलमा नबुझाए उनी तिहारसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ।
सरकारी वकिललाई प्रतिवेदन बुझाए पनि उसले मुद्दा चलाउने नचलाउने निर्णय गर्छ। मुद्दा नचलाए उनी त्यही दिन छुट्छन्।
मुद्दा चलाए अदालतले थुनछेक बयान लिन्छ अनि थुनछेक बहस हुन्छ। त्यसपछि अदालतबाट उनलाई थुनामा राख्ने कि छोड्ने निर्णय हुन्छ।
यो सबै एकैदिन हुनसक्ने संभावना कम भएको सरकारी वकिल कार्यालय स्रोतले बताएको छ।
पक्राउ परेको २५ दिन पुगिसक्ने भएकाले तिहारको बिदा सकिएलगत्तै प्रहरीले उनीमाथि अनुसन्धान गरिसक्नुपर्छ।
त्यतिमात्र होइन मुद्दा अदालतमा दायर गर्नेरनगर्ने निर्णय पनि गरिसक्नुपर्छ।
अहिलेसम्म उनको बयान लिने काम सकिसकेको छ।
रोशनीको घाउचोट, कोठामा भेटिएका चस्मा र जुत्ता तलुवा लगायतको जाँच गर्न प्रहरीले आफ्नो विधिविज्ञान प्रयोगशालामा पठाएको थियो।
कतिपयको रिपोर्ट आए पनि कतिपयको आइनसकेको काठमाडौं प्रहरी प्रमुख तथा एसपी उत्तमराज सुवेदीले बताएका छन्।
रोशनीको शरीरमा देखिएका कालो धब्बा र चोट कुटपिटकै कारणले लागेको रिपोर्ट आइसकेको छ।
महरा भने गम्भीर बिरामी भएको भन्दै अहिले उनी नर्भिक अस्पतालमा उपचाररत छन्।
असोज १२ गते शाहीको घरमा पुगेर बलात्कार गर्न कोशिस गरेको आरोप उनीमाथि लागेको छ।
घटना भएको राति नै रोशनीले प्रहरी बोलाएर महराले आफूमाथि बलात्कार कोशिस गरेको र नमान्दा पिटेको बताएकी थिइन्।
प्रहरीले त्यही रात रोशनीको शरीरमा भएका निलडामहरू, उनको कोठा र उजुरीको रेकर्ड गरेर ल्याएको थियो। घटना भएको कुरा मिडियामार्फत् सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टीले उनलाई सभामुख र संसद पद दुवैबाट राजीनामा दिन भनेको थियो।
महराले भने सभामुखबाटमात्र राजीनामा दिएका छन्।
यो समाचार सेतोपाटीमा छ ।