कात्तिक ७, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक अजरबैजान प्रस्थान गर्दै छन्। असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन उनी आज बिहान अजरबैजानको राजधानी बाकु जान लागेका हुन् । प्रधानमन्त्री ओली आज बिहान पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
असंलग्न आन्दोलन (नाम) राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने दुईदिने १८औं शिखर सम्मेलन भोलि बाकुमा शुरू हुँदैछ । ओलीले पर्सी शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नाम आन्दोलन कुनै गुट र समूहमा आबद्ध नभएका देशहरुको समूह हो। यो समूहमा १ सय २० देश आवद्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन्।
दोस्रो विश्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र अमेरिका पक्षधरमा विभाजित भएका बेला तटस्थ रहेका मुलुक आबद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी बेलग्रेडमा नाम आन्दोलन स्थापना भएको थियो। भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने छन्।
भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र र राजनीतिक सल्लाहकार लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
