मोरङको रंगेली नगरपालिका–९ का पहाडचन राजवंशीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय भरतलाल राजवंशी छन् ।
दुई वर्षअघि हत्या गरी फरार भएको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । २०७४ असार ११ गते आइतबार बजारबाट फर्कने क्रममा साँझ राजवंशीको हत्या भएको थियो । हत्यापछि फरार भएका भरत गाउँमा देखिएपछि इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गर्देछ । बोक्सो आरोपमा गाउँबाट विस्थापित भएका राजवंशीको २०७४, ११ असार साँझमा बजारबाट घर फर्कने क्रममा घाँटी रेटेर बीभत्स हत्या भएको थियो । बोक्साको आरोपमा गाउँमा अपहेलित हुँदै विस्थापित भएका राजवंशीलाई प्रहरीले पुनःस्थापित गरेको थियो ।
मानव मलमूत्र खुवाउने प्रयास गर्दै निर्घात कुटपिट भएपछि प्रहरीले २०६९ सालमा प्रहरीले सात जनाविरुद्ध मुद्दा चलाएको थियो । पछि दुई हजार धरौटीमा छुटेकाहरूको घटनामा संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान गरेपनि भरतलाल भने फरार भएका थिए । फरार राजवंशीको खोजी गर्न प्रहरी एक पटक भारत पनि पुगेको थियो ।
शंकास्पद अवस्थाका व्यक्ति घर फर्किएको थाहा पाएपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनामा संलग्नता स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ