सरकारले इमान्दारीता देखाए वार्तामा वस्न तयार रहेको नेत्रविक्रम चन्द विप्लव समूहले औपचारिक निर्णय गरेको छ । विप्लवको निर्णय सार्वजनिक भएसँगै सरकारलाई समेत वार्ताको लागि दबाब परेको छ । केही समययता दुवै पक्ष वार्ताको लागि तयार हुँदा वार्ताको नजिक पुगेको श्रोेतले जनाएको छ ।
‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पहिलो पटक सकारात्मक धारणा सार्वजनिक गरेको हो । विप्लव समूहले एक विज्ञप्ती जारी गर्दै पश्चिम क्षेत्रमा बसेको पार्टीको आठौँ पूर्ण बैठकले सरकार इमान्दारसाथ प्रस्तुत भए सरकारसँग वार्तामा बस्न आफूहरु तयार रहेको निर्णय गरेको उल्लेख गरेको छ ।
तर विप्लव समूहले वार्ताको लागि २ सर्त अघि सारेको छ । पक्राउ परेका नेता कार्यकर्ता निशर्त रिहाई र प्रतिवन्ध फुकुवा गर्नु गरेर वार्ताको वातावरण बनाउन माग गरेको हो ।
‘विप्लव’ समूहले यसअघि आफूहरुलाई सरकारले वार्ताको लागि औपचारिक रुपमा पहल नै नभएको बताउँदै आएको थियो । तर केही समयअघि बसेको केन्द्रीय समितिको बैठकले षड्यन्त्रपूर्वक नभई इमान्दारिताका साथ वार्तामा बस्ने भए आफूहरु तयार रहेको बताएको हो ।
अहिलेसम्म प्रहरीले ४३ जिल्लाका जिल्ला इन्चार्जसहित १ सय ४८ जना विप्लव समूहका नेताहरुलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । पार्टीको आठौँ पूर्ण बैठकपछि जारी गरिएको १२ बुँदे विज्ञप्तिको ४ नम्बर बुँदामा इमानदारीका साथ सरकारले वार्ताको पहल गरे आफूहरु पनि वार्तामा बस्न तयार रहेको उल्लेख छ ।
यस अघि वार्ता हुन नसक्नुमा सरकार दोषि रहेको भन्दै वार्ताको नाममा षड्यन्त्र गर्न खोजेकाले वार्ताको वातावरण बन्न नसकेको पनि उसले जनाएको छ ।
कोशीअनलाईन
