झापामा जनमत पार्टी सक्रिय

झापामा जनमत पार्टी सक्रिय

कार्तिक ४, २०७६
पृथकतावादी आन्दोलन छोडेर मूलधारको राष्ट्रिय राजनीतिमा प्रवेश गरेका डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले झापामा जनजागरण तथा सङ्गठनात्मक गतिविधिलाई तीव्र पारेको छ ।
पार्टीका अध्यक्ष डा. सिके राउतले जिल्लास्तरीय रूपमा भदौ २९ गते बिर्तामोडमा कार्यकर्तालाई जनजागरण तथा प्रशिक्षण दिएपछि जिल्लामा पार्टीको गतिविधि तीव्र भएको हो ।
आगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र मधेशीहरूको जीवनस्तरको एकमात्र पार्टी हो भन्दै जनमत पार्टीका नेतृत्वतहले प्रशिक्षण दिँदै आएको छ ।
पार्टीका केन्द्रीय सदस्य कौशिल्या महतोको नेतृत्वमा गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका,बाह्रदशी गाउँपालिकालगायतमा पार्टीको विभिन्न समिति र उपसमितिहरू गठन गर्दै जनजागरण अभियान गर्दै आएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नं. १ देखि ६ मा महिला, विद्यार्थी, युवा, जनपरिषद् समितिहरू गठन गरिएको केन्द्रीय सदस्य कौशिल्या महतोले बताइन् । गौरादह नगरपालिका वडा नं. ७ मा जनपरिचालन समिति, बाह्रदशी गाउँपालिकामा महिला तथा जनपरिषद् समिति गठनसमेत भइसकेको उनले बताइन् ।
केन्द्रीय सदस्य महतोको नेतृत्वमा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष दशरथ महतो, भीम राजवंशी, हुलास राजवंशी, नागेन्द्र साहुलगायतको उपस्थितिमा सञ्चालन भएको हो । जनमत पार्र्टीले आफ्नो पकड बनाउने उद्देश्यले विभिन्न पटक प्रशिक्षण तथा सङ्गठन विस्तारमा जोड दिँदै आइरहेको छ ।
यसै अनुरूप जनमत पार्र्टीका सम्पूर्ण युवाहरूलाई प्रशिक्षण दिई गाउँ–गाउँमा परिचालन गरी जनतालाई जागरुक बनाउने उद्देश्यका साथ लगातार प्रशिक्षणहरू चलाइएको जनमत पार्टीले जनाएको छ ।

सम्बन्धित खवर