२०७६ कार्तिक ४ गते
२०६२र०६३ सालको परिवर्तनपछि चीनले नेपालमा सैन्य सहयोग बढाउँदै लगेको छ । यो वर्ष मात्र चीनले दुईपटक सैन्य सहयोगको घोषणा गरिसकेको छ ।
असार पहिलो साता भएको प्रधानसेनापति पूर्णचन्द्र थापाको चीन भ्रमणका क्रममा १५० मिलियन आरएमबी (नेपाली २ अर्ब ४१ करोड रुपैयाँ) बराबरको सैन्य सहयोग गर्ने प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसको तीन महिनापछि भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा थप १५० आरएमबी बराबरको सहयोग गर्ने अनौपचारिक सहमति भएको खुलेको छ ।
चीनको अनुदान लिन मन्त्रिपरिषद बैठकले स्वीकृति दिएसँगै रक्षामन्त्री ईश्वर पोखरेलले बेइजिङ भ्रमणका क्रममा आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सी भ्रमणको अन्तिम दिन २६ असोजमा जारी गरिएको समझदारीका २० बुँदामा सैन्य सहयोगबारे उल्लेख थिएन । बरु ३ नं. बुँदामा अपराधिक विषयमा पारस्परिक कानूनी सहायताबारे सन्धि भएको जनाइएको थियो ।
जंगीअड्डामा पनि सीमित अधिकृतलाई मात्र अनुदानको तयारीबारे जानकारी थियो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, ‘कस्तो खालको सहयोग हो भन्ने हामीलाई थाहा छैन ।’
रक्षामन्त्री पोखरेलले हस्ताक्षर गरेको सम्झौताको विवरण सार्वजनिक भएपछि मात्र यसबारे विस्तृतमा थाहा हुने सैनिक अधिकृतहरु बताउँछन् ।
रक्षा मन्त्रालयका एक उप–सचिवले भने, ‘प्रकोप र विपद व्यवस्थापन सम्बन्धी सामाग्री आउन लागेको हो ।’ चीनका समकक्षी वे फेन्गेसँग पोखरेलले गरेको सम्झौता अनुसार ३ वर्ष्भित्रमा सबै सैन्य सामाग्री आइसक्ने उनले बताए । प्रधानसेनापति थापासँग भएको सम्झौताको अवधि भने ५ वर्षको छ ।
अनलाइन खबर
