फौजी कीराको प्रकोप ः सुनसरीका कृषकले समयअगावै धान काट्नु प¥यो

फौजी कीराको प्रकोप ः सुनसरीका कृषकले समयअगावै धान काट्नु प¥यो

३ कार्तिक २०७६, आईतवार
धानबालीमा फौजी कीराको प्रकोप बढ्दै गएपछि सुनसरीको धरानका कृषकहरूले समयअगावै धान काट्न थालेका छन् । बाला लागिसकेको धानबाली थप मासिन नदिन कृषकहरूले समय अगावै काट्न थालेका हुन् । गत वैशाखदेखि देशका विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढ्दै गएको छ ।
फौजी कीराले धानको बालालाई नष्ट गर्ने गरेको छ । सुनसरीको धरान, बराहक्षेत्र, पकली लगायतका स्थानमा फौजी कीराको प्रकोप देखिए पछि धरानका कृषकहरूले भने समयअगावै धान काट्न थालेका हुन् ।
धान रोपेपछि एकैचोटि उठाउने बेलामा मात्रै हेर्ने गरेका कारण कीराको प्रकोपले धान नष्ट भएको थाहा नहुँदा समस्या आएको पानबारीका कृषक शुक्रबहादुर सम्बाम्फेले जानकारी दिए ।
उनले ५० प्रतिशतभन्दा बढी धान खेतमै नष्ट भएको बताए । उनले भने, ‘पाकिन्जेलसम्म ५० प्रतिशत होइन, ३० प्रतिशत पनि आउँदैन । २ कट्ठामा १० पाथी १५ पाथीभन्दा उठ्ने सम्भावना थिएन । मेरो वर्षभरि खान पुग्ने धान उब्जाउ हुन्थ्यो, यसपाली त सखापै भयो ।’ अन्य सागसब्जी लगाए जस्तै गरी धानबालीको हेरचाह गर्न नसक्दा कीराले खाइसकेपछि मात्रै थाहा भएको उनी बताउँछन् ।
धरानस्थित पानबारीमा करीब २० रोपनी क्षेत्रफलमा लगाएको बाली फौजी कीराले नष्ट गरेको छ । यता बराहक्षेत्र, पकली क्षेत्रका किसानहरूले भने विषादी छर्किएर धानबाली जोगाउन खोजिरहेका छन् । धानबाली नष्ट हुन थालेपछि कृषकहरूले स्थानीय सरकालाई गुहारेका छन् । समय अगावै धान काट्नुपर्ने बाध्यता भएको गुनासो आएपछि धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सहित कीरा वैज्ञानिकहरूको टोलीले प्रकोपग्रस्त क्षेत्र अनुगमन गरेको छ ।
स्थलगत अवलोकनपछि कार्यवाहक मेयर भण्डारीले किसानहरूलाई प्रकोपबारे र प्रकोपबाट अन्नबाली जोगाउने विषयमा विज्ञसहित जानकारीमूलक कार्यक्रम गर्न मातहतको आर्थिक विकास समितिलाई निर्देशन दिएकी छिन् ।
यस्तै, प्रकोप न्यूनीकरण गर्न विज्ञहरूको सुझाव अनुसार विषादी स्प्रे गर्ने लगायत कार्य तत्काल अघि बढाएर अन्नबाली जोगाउन पनि निर्देशन दिएको उनले बताइन् यस्तै, क्षतिको यकिन विवरण संकलन गरेर राहतको लागि पनि आवश्यक पहल गर्ने उनको भनाइ छ ।

सम्बन्धित खवर