कार्तिक ३, २०७६
गैरआवासीय नेपाली संघले मध्यपूर्वी मुलुकहरुमा रहेका नेपाली श्रमिकका लागि स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नव निर्वा्चित पदाधिकारी एवं सदस्यको पहिलो बैठकले सो रकम दिने घोषणा गरेका हुन् । बैठकले १९ वटा एजेन्डामाथि बृहत् छलफल गरेको थियो ।
बैठकले यसअघिकै कार्यसमितिको एजेन्डालाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ । बैठकले सरकारले अघि सारेको भिजिट नेपाल २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ ।
यस्तै पुर्वाधार विकासका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्ययोजना प्रस्तुत गर्नै निर्णय गरेको महासचिव हेमराज शर्माले जानकारी दिनुभयो । यसैबीच गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरिएको महासचिव शर्माले जानकारी दिनुभयो ।
बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारी र सदस्यको सहमतिमा प्रमुख संरक्षक शेष घले चयन हुनुभएको छ । यस्तै संरक्षक समितिको सदस्यहरुमा डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा हुनुहुन्छ ।
यस्तै गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाकार समितिमा समेत गठन भएके छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुलआचार्य युके, सपिला राजभण्डारी (रसिया),रामेश्वर शाह (नेपाल), टीबी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्ककङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना(स्पेन),जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भट्टराई(अमेरिका) रहनुभएको छ ।
