जनकपुर विमानस्थल तोडफोड आरोपमा पक्राउ परेका सांसद साह साधारण तारेखमा रिहा

जनकपुर विमानस्थल तोडफोड आरोपमा पक्राउ परेका सांसद साह साधारण तारेखमा रिहा

कात्तिक १, २०७६ शुक्रबार
जनकपुर विमानस्थलमा तोडफोड तोडफोड गरेको आरोपमा पक्राउ पर्नु भएका राजपा नेपालका सांसद प्रमोद साह साधारण तारेखमा रिहा हुनु भएको छ ।
जिल्ला अदालत धनुषाको इजलास नं. ३ का न्यायाधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिनु भएको हो ।
शुक्रबार जिल्ला अदालतमा थुनछेक बहस भएलगतै साधारण तारेखमा छोड्ने आदेश दिएको हो । गएको सोमबार जनकपुर विमानस्थलमा बुद्ध एअरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाण्डौस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रहरीले जनकपुर ल्याएको थियो ।
बुधबार जिल्ला अदालत धनुषाले उहाँलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो ।
सांसद साहलाई ४ दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिए पनि प्रहरीले भने दुई दिन अगाडि नै घटनाको अनुसन्धान गरिसकेको बताएको छ ।
नागरिक उड्डयन प्राधिकरणले सांसद साहमाथि गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको थियो ।

सम्बन्धित खवर