न्यायिक समितिको दिलायो घरबार विहिन हुन लागेका परिवारलाई न्याय

न्यायिक समितिको दिलायो घरबार विहिन हुन लागेका परिवारलाई न्याय

भिमराज अधिकारी, पथरी
घरबार विहिन हुन लागेको एउटा परिवारलाई न्यायिक समितिले न्याय दिलाएको छ । मोरङ पथरी शनिश्चरे ६ पिप्लेका स्थायी बासिन्दा प्रमिला मण्डलको परिवार झण्डै घरबार विहिन हुन पुगेको थियो । बुधबार नगरको न्यायिक समितिमा छलफलले टुङ्गो लगाएपछि सम्बन्धित पक्षका सबैले न्याय पाएको महसुस गरेका छन् ।

आफ्नो गुम्न लागेको ९ कट्ठा ९ धुर जग्गा फिर्ता पाउने भएपछि प्रमिलाको परिवारमा फेरी खुसी थपिएको छ । मण्डलको परिवारको जग्गा यसरी गाएप हुन लागेको थियो ः

प्रमिलाका श्रीमान सुवोल मण्डलको २०७२ सालमा मृत्यु भयो । बाबुको मृत्यु पश्चात प्रमिलाका दुइभाइ छोराहरु पनि बैदेशिक रोजगारीका लागि आ–आफ्नो बाटो लागे । प्रमिलाले घरखर्च चलाउनका लागि आफ्नै नाममा रहेको साविक अमरदह ५ ब को कित्ता नं. २२२ को ०–५–१३ (५ कट्ठा १३ धुर) र कित्ता नं. २२३ को ०–३–१६ (३ कट्ठा १६ धुर) गरी जम्मा ९ कट्ठा ९ धुर जग्गा छिमेकीलाई बैंकमा राखेर पैसा निकाली दिनका लागि भनिन् । छिमेकी थिए पुरन मण्डल । पुरनले प्रमिलालाई बेलबारीमा लगेर २०७३ कार्तिक १० गते जग्गा आफ्ना नाममा बनाए, यसो गरेको प्रमिलाले पत्तै पाइन्न । पुरनलाई भनेको १ महिना जतिमा पुरनले १ लाख ४० हजार रुपैया प्रमिलालाई दिएका थिए ।

पुरनले आफ्नो नाममा आएको सो जग्गा पूनः २०७३ कार्तिक २९ गते साविक शनिश्चरे २ निवासी सरिता राईलाई पास गरिदिए । सरिताले पूनः सोही जग्गा २०७३ माघ १७ गते बबेलबारी २ निवासी झमेल चौधरीलाई पास गरिदिएका थिए । झमेलले इटहरीमा शाखा रहेको गोर्खाज फाइनान्स लिमिटेडमा धितोमा राखे । धितोमा राखेपछि फाइनान्सले आफ्नो नियम अनुसार सो जग्गा लिलाम गर्नुपर्ने भयो र लिलामको प्रकृया थाल्यो । लिमका समयमा कसैले पनि दावी नगरेपछि मालपोत कार्यालय बेलबारीले दा.खा.का लागि टिप्पणी आदेश ग¥यो तर सो आदेशको पत्रमा कार्यालयको स्टाम र मिति नै उल्लेख गरिएको छैन् । सो दा.खा.को आदेश अनुसार झमेल चौधरीका नाममा रहेको जग्गा रोक्का रहेकामा गोर्खाज फाइनान्सको २०७५ चैत्र २४ गतेको पत्र अनुसार फुकुवा गरी आफ्नो नाममा सकार गरेको देखिन्छ । हाल उत्त जग्गा पथरी शनिश्चरे ६ निवासी सर्वलाल राईको नाममा रहेको छ ।

अब दुबै छोराहरु ओलिन मण्डल र बिनोद मण्डल बैदेशिक रोजगारबाट घर आउछन् । सोही समयमा पुरनलाई जग्गा फिर्ता गर्नु साँवा व्याज तिर्छु भन्दा आज भोली गर्दै झुलाउछन् । यतिकैमा कहिले को आउने कहिलो को आउने र मेरो जग्गा हो भनेपछि मालपोतबाट प्रमाण जुटाउदा आफ्नो जग्गा त पहिले नै लिलामिमा परेको थाहा हुन्छ । जग्गा अर्कैको नाममा भएपछि मण्डल परिवारले नगरको न्यायिक समितिमा उजुरी हालेपछि न्यायिक समितिले पुरन मण्डलले जालसाझ गरेको र प्रमिलाले पनि नजानेर भएता पनि पास गरेको ठहर गर्दै तिनै पक्षलाई राखेर न्याय दिलाएको छ ।

निर्णय अनुसार प्रमिलाको जग्गा धितोमा लिने पुरनले बैकबाट सकार गर्ने सर्वलाल राईलाई ११ लाख ५० हजार मंसिर पहिलो साता भित्रमा बुझाउनु पर्ने, ओलिन, प्रमिला र विनोदले हालका जग्गाधनी सर्वलाललाई ८ लाख ५० हजार मंसिर पहिलो साता भित्रमा बुझाउने र सो पछि सर्वलालले आफ्नो नाममा रहेको मण्डल परिवारको जग्गा फिर्ता गर्ने यदि पुरनले रमक दिन नसकेको खण्डमा आफ्नो घरजग्गाबाट भएपनि प्रमिलाको परिवारलाई जग्गा उपलब्ध गराउने सहमती भएको न्यायिक समिति सदस्य भद्रमान विश्वकर्माले जानकारी दिनुभयो ।

नगरमा बढिमात्रामा जग्गाको मुद्धा आउने गरेको न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले बताउने भयो । बास्तोला भन्नुहुन्छ ‘गाउँगाउँमा भूमाफिया बस्छन्, जग्गा राख्नुपरे सरकारी बैंकमा राख्नुस, वडावडामा जनप्रतिनिधि हुनुहुन्छ अनिवार्य सल्लाह माग्नुस, अप्ठ्यारो परेको खण्डमा हामीसंग सल्लाह लिनुस तर यसरी जो सुकैलाई जग्गा दिने काम नगर्न अनुरोध गर्दछु । एउटा परिवारको बिचल्ली हुने अवस्थामा थियो तर विच्चली हुनबाट बचाएर यो सहमती गराएका छौँ ।’

ग्रामिण भेगमा यस्तो समस्या निकै रहेको पाइएको छ । हरेक जसो मानिस आफ्नो जग्गा विवादमा रहेको, कस्ले लगेको जस्ता गुनासाहरु गर्ने गरेका छन् ।


सम्बन्धित खवर