काठे पुलमाथि गाउँपालिकाको बैठक

काठे पुलमाथि गाउँपालिकाको बैठक

आश्विन २८, २०७६
झापाको एक गाँउपालिकाले आफ्नो पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचारप्रसार अभिबृद्धिका लागि काठको आकर्षक पुल (टिम्बर ब्रिज) माथि बसेर कार्यापालिकाको बैठक सम्पन्न गरेको छ । सोमबार सिमसारमाथि रहेको काठको पुलको बीच भागमा पर्यटकका लागि फोटो खिच्नका लागि बनाईएको फराकिलो ठाँउ (फोटो स्पोट) मा बैठक बसेको हो । बैठकले पहिलो पटक ‘हल्दीबारी महोत्सव’ लगाउने निर्णय गरेको पाईएको छ ।
गाँउपालिकाको वडा नं. २ मा पर्ने भेलागढी सामुदायिक बन क्षेत्र भित्रको लोकतान्त्रिक शहीद स्मृत्ति पार्कमा बनेको काठे पुलमाथिको बैठकले प्रत्येक वर्ष काग तिहारको दिनदेखी शुरु भई छठ पर्वको भोलिपल्ट समापन हुने हल्दीबारी महोत्सव सञ्चालन गर्ने निर्णय गरेको छ । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले महोत्सव बैठक बसिएको भेलागुढी शहिद स्मृती पार्क्भित्र हुने जानकारी दिनुभयो ।
भेलागढी सामुदायिक वन उपभोक्ता समुहलाई उक्त महोत्सव आयोजनाको जिम्मेवारी दिइनेछ । चौथो गाउँ सभा अधिवेशनद्धारा पारित पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि विनियोजित पाँच लाख रुपियाँ गाँउपालिकाले भेलागढी सामुदायिक वन उपभोक्ता समुहलाई उपलब्ध गराउनेछ । गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले गाँउपालिकाको प्रत्यक्ष निगरानी र निर्देशनमा महोत्सव ब्यवस्थापन गर्ने गरी सामुदायिक वनलाइ जिम्मेवारी दिईएको बताउनुभयो ।
गाँउपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार ‘फेरी पनि घुम्न जाँउ, हल्दीबारी गाँउ’ अभियान सघाउन महोत्सव आयोजना गर्न लागेको खुलाउनुभयो । उहाँले कम्तिमा एकलाख आन्तरिक पर्यटक यहाँ ल्याउने आफुहरुको अपेक्षा रहेको बताउनुभयो । महोत्सवले भ्रमण बर्ष २०२० लाइ पनि टेवा पुग्ने अध्यक्ष लिङ्देनले दाबी गर्नुभयो । भारत पनि नजिक भएकाले यहाँ भारतीय पर्यटक समेत आकर्षित गर्न सकिने भएकाले यस बिषयमा समेत आफुहरु छलफलमा रहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार ३ बर्ष्भित्र पार्क निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको र १ करोड ५० लाखभन्दा बढि लगानी भइसकेको छ । गाँउपालिकाले आफ्नो गौरवको योजना बनाएर बहुबर्षिय ठेक्का लगाएर काम गरिरहेको छ । पार्क निर्माणका लागि करीब आठ करोडमा ठेक्का लागेको छ । आफुहरुले बैठक बसेको काठको आकर्षक पुलमा अहिले दैनिक सयौजना फोटो खिच्न आउने गरेको पनि लिङ्देनले बताउनु भयो ।
हर्चना र देउनिया खोलाको सङ्गम स्थालमा रहेको भेलागुडी जङ्गल ९१ दशमलव ५६ हेक्टरमा फैलिएको छ । जंगल क्षेत्र नमासि यसभित्र पार्कको बिकास गरिने लक्ष्य रहेको गाँउपालिका उपाध्यक्ष डम्बर गिरीले बताउनु भयो । जङ्गल क्षेत्रभित्र १९ दशमल ७ हेक्टरमा सिमसार क्षेत्र रहेको छ ।
पर्यटकीय रुपमा बिकास गर्नका लागि बिस्तृत परियोजना विवरण बनाएर काम गरिरहेको गिरीले जानकारी दिनुभयो । भ्यू टावर, कार्यक्रम गर्नका लागि तालिम हल, रिङरोड, नृत्य गरिरहेजस्तो देखिने पानीको फोहोरा (वाटर डान्सिङ फाउन्टेन), बालबालिकाका लागि चिल्ड्रेन पार्क, खेलमैदान, पिकनिक स्थल लगायतका संरचनाहरु बन्ने लक्ष्य राखिएको छ । गोर्खाअनलाईन

सम्बन्धित खवर