मङ्गलबार २८, असोज २०७६
बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार म्याद थपका लागि अदालत लगिने भएको छ ।
संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार प्रयासको आरोप लगाएपछि महरालाई प्रहरीले पक्राउ गरेको थियो ।
सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएका महरालाई उच्च रक्तचाप भएपछि केही दिनअघि थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । महरा अहिले पनि अस्पतालमै छन् ।
प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । महरा र आरोप लगाउने महिलाको फरेन्सिक परीक्षण पनि भइसकेको छ । दुवैको प्रतिवेदन आएपछि अनुसन्धान थप अघि बढ्ने जनाइएको छ ।
महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो ।
