२८ आश्विन २०७६, मंगलवार
ताप्लेजुङको ओलाङचुंगोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुंगोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ ।
लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट निर्माण कार्य अघि बढाएको हो । गत असोज १२ गतेदेखि चीनको तिब्बतबाट भाडामा ल्याइएका चार ओटा मेसिनमार्फत ओलाङचुंगोला बस्तीदेखि लेलेपतर्फको भागमा झण्डै डेढ किलोमिटर ट्रयाक खोलिसकिएको छ ।
एलाइटले फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरी तिब्बतबाट मेसिन औजारसहित जनशक्ति भाडामा ल्याएर काम अघि बढाएको हो । यता सदरमुकाम तर्फबाट लेलेपको लुङथुङसम्म ट्रयाक खोलिसकिएको छ भने दशैं बिदामा निस्किएका कामदारसमेत फर्किएर काम शुरु गर्ने तयारीमा रहेको एलाइट कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए ।
पाँच ओटा ठूला मेसिन लगाएर काम गरिरहेको उनको भनाइ छ । लामिछानेका अनुसार दुवैतर्फबाट काम अघि बढेकाले एक वर्ष्भित्रै ओलाङचुंगोला सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिनेछ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम भइरहे पनि भौगोलिकरूपले कठिनाइ र स्थानीयको अवरोध आदिले ढिलाइ भइरहेको लामिछानेको भनाइ छ ।
