मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित

मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित

मङ्गलबार, २८ असोज,
पर्यटक आकर्षणका लागि झापाका सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन् । मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा शंका देखिएको छ । यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि सर्वसाधारण, वन्यजन्तु संरक्षणमा लागेका संस्था, सञ्चार माध्यम र सरकार सबैको ध्यान यसतर्फ तानिएको छ ।
जिल्ला वन कार्यालयबाट दुई वर्षअघि मात्र पर्यापर्यटनका लागि वन्यजन्तु पाल्ने इजाजत लिएको बाँसबारी सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशीले जनावरको लालनपालन, उपचार र आहारका विषयमा उचित जानकारी नभएका कारण वन्यजन्तु मर्ने गरेको बताए । आफ्नो सामुदायिक वनले सञ्चालन गरेको चिडियाघरमा पालिएका अजिङ्गर र निगाले बाघको बच्चासमेत मरेको उनले जानकारी दिए ।
गाउँलेले भेट्टाएका वन्यजन्तु वन कार्यालयलाई बुझाउने र वन कार्यालयले संरक्षणका लागि सामुदायिक वनहरुलाई जिम्मा लगाउने गर्दै आएका छन् । घाइते अवस्थामा उद्धार गरिएका वन्यजन्तुसमेत सामुदायिक वनमै राख्ने गरिएको छ ।
झापा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बाँसबारी, थोप्लेविरान, आदर्श र जुकेखाडी सामुदायिक वनले पर्यापर्यटनका नाममा वन्यजन्तु पालेको बताए । वनमा हरिण, हाडखोर, गिद्ध, बँदेल, खरायो, लाटकोसेरा, ढेडु बाँदर, बँदेल, भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन वन्यजन्तु र पक्षी पालिएका छन् ।
उद्धार गरिएका र घाइते अवस्थामा फेला पारिएका वन्यजन्तुलाई कार्यालयमा संरक्षण गरेर राख्ने ठाउँ नभएका कारण सामुदायिक वनलाई नै बुझाउनुपर्ने बाध्यता रहेको छ । सामुदायिक वनहरुले पालेका वन्यजन्तु उचित संरक्षणको अभावमा मरेका घटना गुपचुप हुने गरेका छन् । झापामा विगत पाँच वर्षमा १५ भन्दा बढी अजिङ्गर नै सामुदायिक वनको मिनी चिडियाखानामा मरिसकेको अनुमान छ ।
कालिका सामुदायिक वनले डेढ वर्षअघिदेखि वन्यजन्तु पाल्न शुरु गरेको हो । चारआली पशु सेवा केन्द्रबाट प्राविधिक बोलाएर कर्मचारीलाई वन्यजन्तु स्याहारसम्बन्धी तालीम दिन थालिएको उक्त सामुदायिक वनका अध्यक्ष योगेश भट्टराईले बताए ।
वनमा पालिएकामध्ये एउटा हरिण, दुई अजिङ्गर र केही बँदेल मरिसकेका उनको भनाई छ । झापामा सबैभन्दा बढी वन्यजन्तु पाल्ने सामुदायिक वन कनकाइको जामुनखाडी वनका अध्यक्ष ख्याम सिटौलाका अनुसार भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन प्रजातिका जीवजन्तु र चरा छन् ।
प्रदेश नं १ को नमूना चिडियाघरको रुपमा इजाजत पाएको यस सामुदायिक वनमा समेत कुन बेला कति जनावर मरे भन्ने लेखाजोखा छैन । यहाँ हरिणको बथान नै पालिएको छ । डिभिजन वन कार्यालय झापासँग २०६५ साल यता चितुवा, अजिङ्गर, चित्तल, डल्फिन, हाडखोरलगायत १० र जङ्गली हात्ती १० गरी २० वन्यजन्तु मरेको तथ्याङ्क छ । सामुदायिक वनको चिडियाघरमा कति वन्यजन्तु मरिसके भन्ने तथ्याङ्क राख्ने गरेको छैन् ।

सम्बन्धित खवर