२०७६ असोज २७ सोमबार
सरकारको उच्च प्रथमिकतामा रहेको पूर्व–पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी राजमार्गको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । मदन भण्डारी राजमार्गको पूर्वी खण्ड १३५ किलोमिटर छ ।
हालसम्म पूर्वी खण्डको सडकमा ७० प्रतिशत र पुल निर्माणमा ८० प्रतिशत काम भएको आयोजना निर्देशनालयले जनाएको छ । ‘हालसम्म पूर्वी भागमा (बसाहदेखि भीमान र सिन्धुलीबजार हेटौँडा खण्डमा) ७० प्रतिशत सडक र ८० प्रतिशत पुल निर्माणमा प्रगति भएको छ,’ मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले भने ।
आयोजनाले ०७३ यता १० अर्ब खर्च गरिसकेको छ । सरकारले चालू अर्थिक वर्षमा ४ अर्ब ५० करोड बजेट विनियोजित गरी काम अगाडि बढाएको छ । आयोजना ०७९÷८० मा सम्पन्न हुने लक्ष्यसहित अगाडि बढेको निर्देशनालयले जनाएको छ । ‘चालू अर्थिक वर्षमा ४ अर्ब ५० करोड बजेट विनियोजित गरी काम अगाडि बढाएको छ । हालसम्म करिब १० अर्ब बजेट खर्च भइसकेको छ,’ श्रेष्ठले भने ।
१४ जिल्ला जोड्ने मदन भण्डारी राजमार्गमा पर्ने झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, दाङ, अर्घाखाँची, सुर्खेतलगायत जोडिनेछन् । ०७३ मा धरान चतरा हुँदै हेटौँडा जोड्ने गरी सुरु भएको आयोजना ०७५ मा मन्त्रिपरिषद्को बैठकबाट मदन भण्डारी राजमार्गमा जोडिएको थियो ।
दाङबाट सुर्खेतको बोटेचौरसम्म अहिले कालोपत्रे भइरहेको छ । बोटेचौरदेखि डडेल्धुरासम्मको सडकको काम भने केही चुनौतीपूर्ण छ । केही खण्डमा नयाँ ट्र्याक नै खोल्नुपर्नेछ ।
छपन्न पुल निर्माण र १२६ कलोमिटर सडक कालोपत्रे
झापाको बाहुनडाँगीदेखि रुपालसम्म १२ सय किलोमिटरमध्ये हालसम्म १ सय २६ किलोमिटर सडक पिच भइसकेको छ । त्यस्तै पूर्वतर्फ बसाहदेखि भीमानसम्म ४३ मध्ये ३६ पुल र सिन्धुली बजारदेखि हेटौँडाखण्डमा ३३ मध्ये २० वटा पुल निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय प्रमुख श्रेष्ठले बताए ।
चालू आर्थिक वर्षमा २४ वटा पुल र १८० किलोमिटर सडक कालोपत्रे हुनेगरी काम आगाडि बढेको निर्देशनालयले जनाएको छ । ०७३ मा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक आयोजनाको नाममा आयोजना सुरु भएको थियो ।
०७५ जेठमा मन्त्रिपरिषद् बैठकको निर्णयबाट मदन भण्डारी राजमार्ग आयोजनाको नामबाट आयोजना अगाडि बढेको छ । तुलसीपुर, प्युठानबाट घोराहीसम्म कालोपत्रे भइरहेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै धरान झापा सडकखण्डमा कालोपत्रे गर्ने, पुल निर्माण गर्ने आयोजना छ । अहिले त्यस सडकखण्ड ‘सर्भेको’ काम भइरहेको छ । त्यस्तै सुर्खेतको बढीचौरदेखि कर्णालीसम्म सर्भे भइसकेको र डडेल्धुराको जोगबडाबाट रुपाल सर्भेको सम्झौता हुने क्रममा रहेको निर्देशनालयले जानकारी दियो । सर्भे ९ महिनामा सम्पन्न हुने निर्देशनालय प्रमुख श्रेष्ठले बताए । नया पत्रिकामा लेखिएको छ ।
