विवाह अघि नै गर्भपतन गरेको अभियोगमा पत्रकार महिलालाई एक वर्ष जेल 

विवाह अघि नै गर्भपतन गरेको अभियोगमा पत्रकार महिलालाई एक वर्ष जेल 

२७ आश्विन २०७६,
मोरक्को, (बीबीसी)।
मोरक्कोका एक पत्रकार महिलालाई विवाह पहिलाको यौन सम्बन्ध र गर्भपतनको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ । अदालतको पछिल्लो आदेशप्रति अधिकारकर्मी र पत्रकारले आपत्ति जनाएका छन् ।
अभियन्ताहरुले आफ्नो विरोध गर्ने पत्रकारलाई फसाउनका लागि सरकारले अदालतमार्फत् यस्तो फैसला गराएको आरोप लगाएका छन् । हजर राइसोउनी नामकी पत्रकारलाई उनका केटा साथीसहित गाइनोकोलोजिस्ट क्लिनिकबाट निस्कने बेलामा गएको अगस्टमा प्रहरीले राजधानी राबतबाट पक्राउ गरेको थियो ।
२८ वर्षीया ती महिला पत्रकारले आरोप अस्वीकार गरेकी छन् । उनी सो दिन ब्लिडिङ्ग भएका कारण उपचार गर्न गएको जनाएकी छन् । उनी एक स्वतन्त्र समाचारपत्रमा काम गर्दै आएकी थिइन् । उनी सरकारी अधिकारीका गतिविधिप्रति आलोचक रहँदै आएकी थिइन् ।
उनको बारेमा राज्यले अघि बढाएको गतिविधिलाई लिएर पत्रकारहरुले यो राजनीतिक ‘ट्रायल’ भएको भन्दै आलोचना गरेका छन् । उनका केटा साथी सुडानी नागरिकले पनि सो दिन गर्भपतन गराएको भन्ने कुरा अस्वीकार गरेका छन् । सोमबार भएको फैसलामा पत्रकारका केटा साथीलाई एक वर्षको र चिकित्सकलाई दुईवर्षको जेल सजाय तोकिएको छ ।
हुमन राइट्स वाचका क्षेत्रीय निर्देशक अहमद बेन्चेम्सीले अदालतको सो फैसला भएको दिन मोरक्कोको स्वतन्त्रतामा कालो दिन भएको बताएका छन् । पत्रकार महिलाका वकिलले भने अदालतको सो आदेशको विरुद्धमा पुनरावेदन गरिने जनाएका छन् ।

सम्बन्धित खवर