इन्टरपोलको महासभामा भाग लिन आईजीपी खनाल चिली प्रस्थान

इन्टरपोलको महासभामा भाग लिन आईजीपी खनाल चिली प्रस्थान

२०७६ असोज २७ गते
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा यही असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८८ औं महासभामा भाग लिन खनाल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रहरी महानिरीक्षक खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली गएका छन् ।
प्रहरी महानिरीक्षक खनाल नेतृत्वको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरेका थिए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

सम्बन्धित खवर