सुँगुरको मासु खाएर मृत्यु हुने कैदीको संख्या ३ पुग्यो

सुँगुरको मासु खाएर मृत्यु हुने कैदीको संख्या ३ पुग्यो

सोमबार, २७ असोज, २०७६
सुँगुरको मासु खाएर गम्भीर बिरामी भएका जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् ।
उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
राईसँगै सुँगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १९ गते दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भइसकेको छ ।
फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापा लाँदै गर्दा बाटोमै २० गते राति मृत्यु भएको थियो ।
मासु खाएर बिरामी भएका चार जनामध्ये कुम्मायक गाउँपालिका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुङ्गानाका अनुसार दशैँ मनाउन कारागारभित्र तीन वटा सुँगुर काटेको र त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन् । मासुमात्र खाने अरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

सम्बन्धित खवर