विवेक शर्मा, रौतहट
रौतहटको जिल्लाको दक्षिणी र पश्चिम् भेगमा रहेको इशनाथ नगरपालिकामा एक युवकको अज्ञात समुहबाट गोली हानी हत्या भएको छ । भारतीय नम्बरको मोटरसाइकलको बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पूनः भारत तर्फ फर्किएको स्थानीयको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा रहेको क्रान्ति प्राथमिक विद्यालय नजिकै युवक माथि गोली प्रहार भएको थियो ।
मृत्यु भएको युवकको पहिचान अहिले सम्म खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।
हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको र मृतकको साथबाट उनको पहिचान खुल्ने कुनै कागजात वा बस्तु फेला नपरेकोले उक्त व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।