काठमाडौं, चिनियाँ राष्ट्रपतिको सी जिनपिङको आजदेखी हुने नेपालको राजकीय भ्रमणका क्रममा त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएका छन् । विमानस्थलका कामकाजमा दुई दिन नै प्रभावित हुने भएको छ।
चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५ः३० को बिचमा काठमाण्डौ अवतरण गर्ने कार्यतालिका छ । शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टू एयरमेन) जारी गर्दैछ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो। विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भिभिआइपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्ने हुन्छ। राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ ।
राष्ट्रपति सी आउने बेला साढे दुई घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थलले जनाएको छ। शनिबार यो समय दिउँसो २ बजेर ५५ मनिने देखि पाँच बजेर २५ मिनेट सम्मको लागि तोकिएको छ। आइतबार बिहान ११ः२० देखि दिउँसो १ः५० सम्म तोकिएको छ। राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् । राष्ट्रपति सी आइतबार १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ ।
दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाण्डौमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ।