युवतीअपहरण गरेर भारततर्फ लग्ने तीन जना गाडीसहित पक्राउ

युवतीअपहरण गरेर भारततर्फ लग्ने तीन जना गाडीसहित पक्राउ

राजेन्द्र महतो, लहान

युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अपहरणमा संलग्न तीन जनालाई गाडीसहित पक्राउ गरि सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा प्रहरीले गाडीसहित तीन जनालाई पक्राउ गरेको हो ।

लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्यक्रम हेरेर बिहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेको सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अपहरण गरी लग्दै गर्दा बाटो छेउमै रहेको नालामा स्कारपियो फसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायब उपरीक्षक अपिल राज बोहराले जानकारी दिए । पक्राउ परेको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३०० पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र र मोबाइल सेट समेत बरामद भएको प्रहरीले जानकारी दिए । सो गाडीमा रहेका अन्य दुई जना भाग्न सफल भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

सम्बन्धित खवर