चीनसँग नेपालको हित र आवश्यकता केन्द्रित साझेदारी गरिने प्रधानमन्त्री ओलीको भनाई

चीनसँग नेपालको हित र आवश्यकता केन्द्रित साझेदारी गरिने प्रधानमन्त्री ओलीको भनाई

असोज २३, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाएका छन्। भ्रमणको पूर्वसन्ध्यामा बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल आयोजना गरी प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन्।
चिनियाँ राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय भ्रमण हुँदैछ। प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रआिएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा र्पुयाउने विश्वास व्यक्त गरिएको छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने उल्लेख गरे।
पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले चीनसँग सडक र पूर्वाधारमा कनेक्टिभिटीका विषयमा मुख्य छलफल हुने जनाउँदै किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नति आदि विषययमा चीनसँग वार्ता हुने र विस्तृत तयारी नेपाल सरकारले गर्ने बताए।
नेपाली काङ्ग्रेसका नेता डा प्रकाशशरण महतले राष्ट्रपति सीको भ्रमण हुने कुरा खुशीको विषय हो भन्दै राष्ट्रिय हित र आवश्यकताका आधारमा तयारीका साथ चीनसँग सहकार्य गर्न सुझाव दिइएको बताए।
आफूहरु नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, ‘बेल्ट एण्ड रोड’ इनिसियटिभमा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्री डा महतले ऋण लिएर रेलजस्ता ठूला आयोजना भने हतारोमा शुरु नगर्न ध्यानाकर्षण गराए ।
उनले नेपालको विदेश नीतिमा कुनै अन्योल हुने खालको वातावरण सिर्जना नगर्न पनि सरकारसँग आग्रह गरे। करीब चार घण्टा चलेको छलफलमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिए।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका थिए।

सम्बन्धित खवर