आश्विन २३, २०७६
विश्वकप फुटबलको छनोट अन्तर्गत आज नेपालले बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा हुने विश्व कपका लागि नेपालले छनोटको दोस्रो चरण अन्तर्गत, अष्ट्रेलिया विरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
क्यानबेरास्थित जिआइओ रंगशालामा नेपाल र अष्ट्रेलिया बीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । सिड्नीमा ५ दिनसम्म प्रशिक्षण गरेर नेपाली टोली मंगलबार नै क्यानबेरा पुगिसकेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धाका लागि आफूहरु पूर्णरुपमा तयार रहेको बताएका छन् । उनले अष्ट्रेलिया राम्रो टीम भएको भन्दै उनले आफ्नो तर्फबाट उत्कृष्ट खेलका साथ प्रतिस्पर्धामा उत्रने बताएका हुन् ।
क्यानबेरामा आयोजना गरिएको ‘प्रि म्याच प्रेस कन्फरेन्स’ मा उनले आफ्नो खेल र तयारीका बारेमा जानकारी दिंदै खेलाडीहरु उत्कृष्ट खेलका लागि तयार रहेको बताएका हुन् ।
प्रतिद्वन्दी टीम जति बलियो भएपनि आफूहरु आफ्नो खेल रणनीतिका साथ मैदानमा उत्रने टोलीका प्रशिक्षक योहान कालिनले बताए । प्रेस कन्फरेन्समा अष्ट्रेलियाली फुटबल टोलीका प्रशिक्षक ग्राहम आर्नाेल्डले आफूहरु उत्कृष्ट नतिजाका लागि सक्दो मेहेनत गर्ने बताए ।
नेपालले कस्तो खेल्छ भन्ने बारेमा चासो नभएको भन्दै उनले आफ्नो टीमको खेलमा केन्द्रित रहेको बताएका छन् । अष्ट्रेलिया फिफा वरियतामा नेपाल भन्दा १ सय १८ स्थान माथि रहेको छ । नेपाली टोलीलाई समर्थन गर्नका लागि सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका शहरहरुबाट करीब ९ हजारले सहभागिता जनाउने विश्वास लिइएको छ ।
अष्ट्रेलियाको तर्फबाट कप्तान मार्क मिलिघनको नेतृत्वमा टीम मैदानमा उत्रने छ भने नेपालको तर्फबाट कप्तान किरण चेम्जोङको नेतृत्वमा स्ट्राइकर बिमल घर्तीमगर, रोहित चन्द लगायतका खेलाडीहरु मैदानमा उत्रदैछन् ।
