राष्ट्रिय चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउने

राष्ट्रिय चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउने

आश्विन २३, २०७६
चिनियाँ राष्ट्रपति सी जिनफिङ अगामी शनिबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीले आगामी शनिबार र आइतबार नेपाल भ्रमण गर्ने तय भएको जनाएको हो ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा बिभिन्न दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने तय भएको छ ।
चीनका राष्ट्रपतिको झण्डै साढे २ दशकपछि हुन लागेको नेपाल भ्रमणलाई लिएर सरकारले यसअघि बाटै तयारी तीब्र पारेको थियो । राष्ट्रपति भण्डारीको निमन्त्रणामा काठमाडौं आउन लागेका राष्ट्रपति सीको नेपाल भ्रमण क्रममा केरुङ–काठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का केही नेपाल प्रस्तावित परियोजनामा सम्झौता हुने सम्भावना देखिएको छ ।
राष्ट्रपति सी सहितको विशिष्ठ प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग आइतबार द्वदेशीय बैठक गर्ने भएको छ । बैठकपछि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । राष्ट्रपतिको सम्मानमा नेपाली समकक्षी भण्डारीले शनिबार विशिष्ठ रात्रीभोजको आयोजना गर्नुहुनेछ ।
सीको भ्रमण लक्षित सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएको सरकारको दाबी छ । चिनियाँ टोलीले गत बुधबार त्रिभुवन विमानस्थलको अवस्था, उडान र अवतरण बारे पूर्व अभ्यास गरेको थियो ।
नेपाल सरकारले काठमाडौंमा हुन सक्ने बिभिन्न गतिविधिलाई सुक्ष्म अध्ययन गरी सुरक्षा योजना बनाईरहेको सुरक्षा स्रोतको भनाई छ । आगामी शुक्रबार भारतको चेन्नई जाने राष्ट्रपति सी शनिबार त्यहीबाट काठमाडौं आउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सी भोलीपल्ट आइतबार चीन फर्कनुहुनेछ ।

सम्बन्धित खवर