असोज १६, २०७६
नेपाली राष्ट्रिय क्रिकेट टोली पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिजका लागि ओमान जाने भएको छ । ओमानमा आयोजना हुने नेपाली टोली सिंगापुरबाट त्यसतर्फ प्रस्थान गर्न लागेको हो । सिंगापुरमा रहेको नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्नेछ ।
नेपाली टोलीले सिंगापुरमा त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो । तीन राष्ट्रबीच डबल राउन्ड रोबिनमा भएको खेलमा नेपालले एक खेल जित्दा दुई खेल गुमाएको थियो भने एक खेल वर्षाले प्रभावित भएपछि रद्द भएको थियो। ओमानमा आयोजना हुने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
खेल पर्सि १८ देखि २३ सम्म हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ। त्यस्तै दोस्रो खेल असोज २० गते नेदरल्याण्ड, तेस्रो खेल असोज २२ गते आयरल्याण्ड र अन्तिम खेल असोज २३ गते ओमानसँग खेल्दै सिरिजको अन्त्य गर्ने छ ।
युएईमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो। नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले गरे आमन्त्रण गरेपछि नेपालले सहभागिता जनाउन लागेको हो।
