सुनसरीमा पाँच महिनामा १ सय ३५ द्वारा आत्महत्या

सुनसरीमा पाँच महिनामा १ सय ३५ द्वारा आत्महत्या

आश्विन १६, २०७६
सुनसरीमा पछिल्लो ५ महिनाको अवधिमा १ सय ३५ जनाले आत्महत्या गरेका छन् जिल्ला प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी छ ।
पाँच महिनामा ७२ जना महिलाले आत्महत्या गर्दा पुरुषको सङ्ख्या ६३ रहेको छ । एक सय ३५ मध्ये २० वर्षभन्दा कम उमेर समूहका १९ जनाले आत्महत्या गरेको देखिन्छ ।
सुनसरी प्रहरीको तथ्याङ्कका अनुुसार पछिल्लो पाँच महिनामा भएका आत्महत्यामा विष सेवन सबैभन्दा बढी छन् । ९५ जनाले विष सेवन गरेर आत्महत्या गर्दा ४० जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
आत्महत्या बढ्नुलाई प्रहरीले पारिवारिक कलह प्रमुख कारक ठानेको छ । घरायसी विवाद, झै–झगडा, गरिबीसँगै अशिक्षा र चेतनाको कमीका साथै केहीमा मानसिक सन्तुलन ठीक नहुनु जस्ता कारणले आत्महत्या गरेको अनुसन्धानमा देखिन आएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरी पछिल्लो पाँच महिनाको कार्यसम्पादन र प्रगति विवरण प्रस्तुत गर्ने क्रममा आत्महत्याबारे जानकारी गराएको हो ।
असारयता ४ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलेको छ । फरार रहेका १ सय ६७ जना अभियुक्त पक्राउ परेका छन् । तीनथान पेस्तोल, तीनथान म्याग्जिन, २७ राउण्ड गोली र ३ मोटरसाइकल पछिल्लो ४ महिनाको अवधिमा बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माका अनुसार जिल्लामा लागूऔषध प्रमुख चुनौतीका रूपमा रहेको छ । ४ महिनाको अवधिमा महिला तथा घरेलु हिंसासम्बन्धी ६५ निवेदन दर्ता भएका छन् ।

सम्बन्धित खवर