एक व्यक्तिले कतिसम्म सुन सञ्चित गरेर राख्लान् ? ५ किलो, १० वा २५ किलो। प्रश्न उठ्ला यत्रो सुन एक व्यक्तिसँग कहाँबाट हुन सक्छ ? प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि यो पहेँलो धातुको बजारभाउ आजको मितिमा तोलाकै ७० हजार रुपैयाँ छ । एक केजीमा लगभग ८९ तोलाको हाराहारीमा हुन्छ । यदि तपाइँसँग ५ किलोमात्र सुन छ भने त्यो ४४५ तोला हुन्छ र अहिलेको बजारभाउअनुसार त्यसको मूल्य ३ करोड ११ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ । यो पनि निकै ठूलो धनराशि हो ।
यस्तोमा यदि एकै व्यक्तिसँगै १३.५ टन अर्थात् साढे १३ हजार ५०० किलो सुन भेटियोभन्दा पत्याउन गाह्रो पर्छ तर चीनको दानझौ सहरमा हालै यस्तै घटना भएको छ। दानझौ सहरका पूर्वमेयर ज्याङ कुईका साथबाट यत्रो परिमाणमा सुन बरामद भएको हो। चिनियाँ प्रहरीले उनको घरमा छापा मार्दा ठूलो परिमाणमा सुन बरामद गरेपछि ज्याङलाई पक्राउ गरी लगेको छ । प्रहरीले ज्याङको घरबाट बरामद सुन पनि जफत गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्वमेयर ज्याङको घरको बेसमेन्टमा लुकाएर राखेको अवस्थामा १३.५ टन सुन बरामद भएको हो ।
बरामद सुन इँटा आकारमा हजारौँ टुक्रा थिए । पूर्वमेयर ज्याङको घर हजारौँ वर्गमिटरमा फैलिएको छ । त्यहाँ अवैध रुपमा सुन लुकाएर राखिएको थाहा पाएपछि प्रहरी छापा मार्न पुगेको थियो । सुरुमा त यत्रो परिमाणमा सुन देख्दा चिनियाँ प्रहरी आफैँ छक्क पनि परे । चीनमा भ्रष्टाचारलाई लिएर शून्य सहनशीलता तथा कडा नियम बनाइएको छ । तर पनि बेलाबेलामा ठूला भ्रष्टाचारका घटना बाहिर आइरहन्छन् । ठूलो परिमाणमा सुन भेटिएपछि भ्रष्टाचार मुद्दामा पूर्वमेयर ज्याङलाई फासीको सजाय हुन सक्ने आँकलन गर्न थालिएको छ । –एजेन्सी