२०७६ असोज १२ गते
सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासिले अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिएको बताएकि छिन् ।’ आइतबारको तुलनामा सोमबार मौसममा बढी सुधार देखिने उनको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाले सामान्यता तीन दिनको मात्र पूर्वानुमान गर्दछ । त्यसैले खासगरी फूलपातीदेखि दशैंको टीकासम्मको अवधिमा मौसमको अवस्था के हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न कठिन हुने मौसमविद बताउँछन् । यद्यपि अर्को सिस्टम तत्काल विकास हुने सम्भावना नदेखिएको मौसमविद बासीले बताइन् ।
तर, नेपालबाट मनसुन बाहिरीनसकेकाले वर्षाको सम्भावना भने कायमै रहने मौसमविद बताउँछन् । तर, अहिले भइरहेको जस्तो ठूलो वर्षा वा पूर्ण बदलीको अवस्था भने नहुने अनुमान गरिएको छ ।
आज काठमाडौं उपत्यकासहित देशभर बदली र वर्षा
आइतबार काठमाडौं उपत्यकासहित देशभर बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । खासगरी प्रदेश नम्बर १, २ र ३ का ठूलो एरिया कभर गरेर अहिले पानी परिरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्व र मध्य भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको मौसम विज्ञान विभागले अनुमान गरेको छ ।
आइतबार मौसममा खराबी आउने भएकाले आगामी २४ घण्टाका लागि सतर्कता अपनाउन विभागले सूचित गरेको छ । ‘देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावनाको साथै मध्य तथा पूर्वका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ जसका कारणले सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने तथा पहाडी भू–भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा लेखिएको छ ।
सोमबार भने आइतबारको तुलनामा मौसममा केही सुधार आउने छ । ‘भोलि (सोमबार) अलि बढी सुधार त हुन्छ, तर पूर्णरुपमा भने हुँदैन,’ मौसमविद बासीले भनिन् । उनका अनुसार सोमबार मध्य र पूर्वका केही स्थानमा र पश्चिमको थोरै स्थानमा पानी पर्ने सम्भावना छ । साथै पूर्व र मध्यका एक–दुई स्थानमा भने मेघगर्जन सहित चट्याङ्ग पर्ने छ ।
मंगलबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ ।
अनलाईन खबर
