पथरी, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले बोल्ने भन्दा पनि काम गर्ने कुरामा आफू विश्वास गर्ने बताउनु भएको छ। मन्त्री ढकालकै निर्वाचन क्षेत्र अन्तर्गतको पथरी शनिश्चरे नगरपालिकामा रहेको पथरी बहुमुखी क्याम्पसको संचालक परिषद बैठकमा बोल्दै मन्त्री ढकालले झुटो आश्वासन बाढ्ने भन्दा आवश्यकताको आधारमा र सरोकारवालाहरुको सकृयतामा काम गर्ने कुरोमा आफू बिश्वास गर्ने बताउनु भएको हो।
कार्यक्रममा बोल्ने क्रममा मन्त्री ढकालले निर्वाचन भएको डेढ वर्षको अवधीमा २४२ वटा कानुन निर्माण गरेको बताउदै छोटो समयमा कानुनी रुपमा बर्तमान सरकारले निकै काम गरेको बताउनुभयो । क्याम्पसको प्रसंगमा मन्त्री ढकालले भन्नुभयो “यस क्षेत्रका साथिहरुले सहमति जनाएमा सांसद विकास कोषको बजेटबाट भएपनि क्याम्पसका लागि केही व्यवस्थापन गरिने छ ।” देशकै सबैभन्दा ठुलो समस्याका रुपमा रहेको यस क्षेत्रमा सुकुम्बासी, दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास लगाएतको समस्या समेत अब हल हुनेकुरा ढकालले बताउनुभयो ।
मन्त्री ढकालको प्रमुख आतिथ्यमा आयोजित सभा आर्थिक वर्ष २०७५/७६ को प्रगती प्रतिवेदन प्रस्तुत, आ.व ०७६/७७ को कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिकाको गहनाको रुपमा रहेको एक मात्र डिग्री क्याम्पसको रुपमा परिचित क्याम्पस १० लाख बढी संचालन घाटामा रहेको लेखा समिती संयोजक केशवप्रसाद दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार १ करोड ५४ लाख ९९ हजार ९ सय ८२ रुपैयाँ आम्दानी गरेको क्याम्पसले १ करोड ६५ लाख ४६ हजार ६ सय ५४ रुपैयाँ खर्च गर्दा १० लाख ४६ हजार ६ सय ७२ रुपैयाँ संचालन घाटा देखिएको हो।
QAA प्रक्रियामा रहेको क्याम्पसले प्रविधिमैत्री शिक्षामा जोड दिदै आइरहेको छ । परिषद बैठकमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । अक्षय कोष संचालनका लागि समेत दाताहरु थपिने क्रम पनि रहेको छ । यही बिचमा हिजो नै औपचारिकता प्राप्त गरेको भरतमोहन अधिकारी फाउनडेसनबाट पनि १ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना गरिएको छ । आगामी दिनमा अझ प्रभावकारी रुपमा क्यामपस संचालनका लागि सबै सरोकारवालाहरु मिलेर लाग्नुपर्ने वक्ताहरुले बताएका छन् । कार्यक्रममा मोरङ्गका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रमणी राई, पथरीशनिश्चरेका नगर प्रमुख दिलिप कुमार राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
यसैबिचमा क्यामपसमा संचालन भएका विविध अतिरिक्त क्रियाकलाप, आन्तरिक ताथा बाह्य परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।