एका विहानै कटहरिया नगरपालिकामा तोडफोड करोडौँको क्षति

एका विहानै कटहरिया नगरपालिकामा तोडफोड करोडौँको क्षति

रौतहट, शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले शुक्रबार तोडफोड गरेका छन् ।

कटहरिया नगर कार्यपालिकाको विहिबार बसेको बैठकले नगर अन्तर्गतका एक जना प्रधानाध्यापक सहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो । एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिका अन्तर्गतका आक्रोसित विद्यार्थीहरुले एका विहानै आज नगरपालिकाको कार्यालयमा तोडफोड गरेर करोडौँको क्षति पुरयाएका छन् ।

ठुलो संख्यामा आएका विद्यार्थीहरुले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेस गरी दश भन्दा बढी कम्प्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएका छन् । ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गरेका छन् । विद्यार्थीहरुले ढुंगा प्रहार गरेर नगरपालिकाको एसीमा पनि तोडफोड गरी पुर्णरुपमा क्षति पुरयाएको छ। यसैगरी नगरपालिकाको पश्चिमपटी निर्माण भएको नयाँ भवनको ५० वटा सिसाको झयाल पनि कामै नलाग्ने गरी फुटाएको छ ।

विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएका छन् । विधुतिय उपकरणहरुमा पनि क्षति पुरयाएका छन् । शिक्षक सरुवाको विषलाई लिएर विद्यार्थीहरुले तोडफोड गरेको भनिएपनि नगर प्रमुख शियाराम कुश्वाहाले सरुवा भएका केहि शिक्षकले नै प्लान बनाएर सुनियोजित तरिकाले नगरपालिकामा तोडफोड गर्नुका साथै लुटपाट समेत गरेको दावी गरेका छन् ।

सरुवा गरिएको केहि शिक्षकले नै आफना नातागोता र आफन्तका मान्छेहरुलाई विद्यार्थीको रुपमा प्रयोग गरी गुण्डागर्दी शैलीमा एका विहानै दर्जनौको संख्यामा नगरपालिकामा आएर तोडफोड गर्दै करोडौको क्षति पुरयाएको मेयर शियाराम कुश्वाहाले बताएका छन् । हिजो एतिहासिक रुपमा जिल्लामै पहिलो पटक कटहरिया नगरपालिकाको बसेको कार्यपालिका बैठकले नगर क्षेत्र भित्रमा शिक्षामा सुधार ल्याउने उदेश्यले केहि शिक्षकलाई सरुवा गर्ने गरेको निर्णय बाहिर नआउँदै यस्तो घटना घटेको मेयर कुश्वाहाले बताए ।

त्यस्तै रौतहट क्षेत्र नं ३ ख का प्रदेश सांसद कुन्दन कुश्वाहाले मावि भसढेवाका प्रधानाध्यापक राम मंगल प्रसाद यादव र शिक्षक सचिन्द्र प्रसाद यादवको कारण नगरपालिकामा यस्तो घटना घटेको आरोप लगाएका छन । सरुवा गरिएको ठाउँमा नजाने मनसायले प्रअ यादव र शिक्षक सचिन्द्रले सुनियोजित र योजनावद्ध तरिकाले नगरपालिकामा आफना मान्छे र आफन्तलाई विद्यार्थीको रुपमा प्रयोग गरेर आक्रमण गरेको प्रदेश सांसद कुश्वाहाले दावी गरेका छन ।

प्रअ यादवको प्राविको शिक्षक मात्रै हुनु पर्ने योग्यता रहेको छ तर पनि पनि नियम विपरीत बलजवरजस्ती विगत १५ वर्षदेखी प्रअ यादवले मावि भसेढवामा प्रधानाध्यापकको रुपमा कार्यरत रहेको प्रदेश सांसद कुश्वाहाले बताउनुभयो । कटहरिया नगरपालिकाले मावि भसेढवाका प्रअ राम मंगल प्रसाद यादवलाई अन्यत्र सरुवा गरी यादवको ठाउँमा मावि सरहको योग्यता भएको शिक्षकलाई पठाउँने निर्णय गर्दा प्रअ यादवले योजना बनाएर नगरपालिकामाथी आक्रमण गर्न लगाएको प्रदेश सांसद कुश्वाहाले आरोप लगाउनुभयो ।

नगरपालिकामा आज भएको तोडफोड र लुटपाटको जिम्मेवारी भसेढवा माविका प्रअ यादवले नै लिनुपर्ने उहाँले बताए ।


सम्बन्धित खवर