पथरी, हसन्दह ढल्केजोवन फुटबल खेल (आज) शुक्रबार देखि सुरु भएको छ । हाल मोरङको पथरीशनिश्चरेमा पर्ने साविकको हसन्दह गाविसका ९ वटा वडालाई समेट्ने गरी खेल भइरहेको छ । आज एक औपचारिक कार्यक्रमका बिच नगरप्रमुख दिलिप कुमार राईले खेलको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख राईले नगरका युवाहरुलाई समेट्नेगरी खेल मैदानहरु तयार गर्दै लगिने बताउनुभयो । नगरको भूउपयोगको नीति तयार गरेर कुन क्षेत्रमा के बनाउने भन्ने निक्र्योल गरेर खेल मैदानहरुको पनि व्यवस्थापनमा नगर सदैव सकारात्मक रहेको बताउनुभयो । साथसाथै नगरप्रमुख राईले खेलाडीहरुलाई शुभकामना सहित वडादशैँको पनि शुभकामना व्यक्त गर्नुभयो ।
उद्घाटन सत्रमा विशिष्ट अतिथि वडा नं. ६ का अध्यक्ष जय बहादुर तामाङ, वडा नं. ५ का अध्यक्ष जोग बहादुर धिमाल, राष्ट्रिय खेलकुद कर्मचारी संगठनका अध्यक्ष रन्जन थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
आजको पहिलो खेलमा हसन्दहको वडा नं. १ र ६ बिचको खेल भएको छ । केहि वर्ष अघिसम्म संचालन हुँदै आएको फुटबल खेल बिचमा रोकिएको भएता पनि अब निरन्तर रुपमा अगाडी वढाइने हसन्दह स्पोर्टिङ क्लव तथा कार्यक्रमका अध्यक्ष डेबिट खड्काले बताउनुभयो । आजबाट सुरु भएको खेल असोज १८ गते फुलपातीका दिन समापन हुनेपनि खड्काले जानकारी दिनुभयो । खेल संचालनका लागि नगर, वडा तथा स्थानीय व्यावसायी समाजसेवीहरुले पनि आर्थिक सहयोग गरेका छन् । खेल पथरीशनिश्चरे ५ मा रहेको अमरसिंह माविको खेलमैदानमा भइरहेको छ ।