शुक्रबार १०, असोज २०७६
मलेसियामा रोजगारी खुलेसँगै करिब १ लाख युवाले रोजगारी पाउने भएका छन् । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको हो ।
मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढ्दै गएर १ लाखभन्दा बढी भएको हो । यस्तै पहिलो पटक जाने नयाँ युवाको संख्या भने २ लाखको हाराहारीमा पुग्ने सरोकारवालाले बताएका छन्
विगत लामो समयदेखि मलेसियामा रोजगारी खुल्ने आशामा जीएसजी नेपालमा प्रक्रियाका लागि आवेदन दिएका युवाको संख्या १ लाख पुगको छ । जीएसजी नेपाल मलेसियाको अध्यागमन सुरक्षा प्रणालीका लागि काम गर्ने नेपालमा स्थापना गरिएको संस्था हो । मलेसिया र नेपाल सरकारका प्राविधिक टोलीले मलेसियाको रोजगारी खुला गरेपछि लाखौँ युवा मलेसिया जाने तयारीमा लागेको म्यानपावर व्यवसायीले जनाएका छन् ।
मलेसियास्थित नेपाली राजदूतावासले भदौ ३० गते मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौँ नेपाली मलेसिया जाने बाटो खुलेको छ । दूतावासले ३० गते प्रमाणीकरणको लागि निवेदन दिन अनुरोध गरेपछि सम्पुर्ण प्रक्रिया पूरा गरेका मागपत्र सोमबारबाटै प्रमाणीकरणको काम सुरु भएको मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेले बताए ।
जीएसजी नेपालका कार्यकारी निर्देशक गोविन्द थपलियाले मलेसिया खुल्ने भएपछि आईएसजीमा दैनिक जसो ५ सयदेखि १ हजार ७ सयसम्म युवाको भिड लाग्ने गरेको जानकारी दिए । यस्तै, वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले मलेसिया खुल्ने भएपछि दैनिक २ हजारदेखि २५ सय युवाले राजधानी आउने गरेको बताए ।
