कम्युनिष्ट कांग्रेस जस्तै बन्ने खतरा, नेकपा अध्यक्ष प्रचण्ड

कम्युनिष्ट कांग्रेस जस्तै बन्ने खतरा, नेकपा अध्यक्ष प्रचण्ड

असोज ६, २०७६
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट कांग्रेस जस्तै बन्ने खतरा रहेको बताएका छन्। नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
अध्यक्ष दाहालले वैचारिक स्पष्टता तथा त्यस अनुसारको व्यवहार, आचरण, क्रियाकलाप र जीवनचर्या नभए पार्टीको हालत पनि पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुको जस्तै हुने पनि स्पष्ट पारे।
‘कम्युनिष्ट भन्नेबित्तिकै लामो समयदेखि जनताका लािग श्रमजीवीका लागि लडेकाले भोट दिए । तर व्यवहार हेर्दा त अरु जस्तै देखिन थालेको छ।’ नेपालका कम्युनिष्टहरुले आफूलाई पुरै परिवर्तन नगरेर सोभियत संघ र पूर्वीयुरोपको जस्तै हालत हुने उनले बताए।
मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन एउटा फौजी आन्दोलनको चाहिएको पनि बताए।
देशका लागि कम्युनिष्टले त्याग, तपस्या र क्रान्ति पनि गरेको बताउँदै उनले तर अहिले आएर आचारण, व्यवहार त्यस्तै रहेकोमा चिन्ता गरे।
कम्युनिष्ट आन्दोलन र देशको भविष्य, राष्ट्रिय एकता र स्वाधीनता निम्ति पार्टी एकता गरेको भन्दै उनले पदको लोभ र गुट–उपगुटको राजनीतिमा नलाग्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
प्रचण्डले जस्तोसुकै चुनौती आएपनि एकताको मर्म अनुसार अगाडि बढ्न सबैले ध्यान दिनुपर्ने बताए। अहिलेका गतिविधिले कम्युनिष्टको आर्दश, विचार र निष्ठाबाट बिस्तारै स्खलित हुन खोजेको त होइन? भन्ने आभास भइरहेको दाहालले बताए। अध्यक्ष दाहालले अब आफ्ना लागि, व्यक्तिका लागि प्राप्त कुरा त्याग्ने बेला आएको बताए।

सम्बन्धित खवर