घरैपिच्छे किवी खेती,वर्षेनी बढ्दै

घरैपिच्छे किवी खेती,वर्षेनी बढ्दै

०५ असोज २०७६
धनकुटा २ चाँपे गाउँका कृष्णकमल राना मगरको वारीमा यतिबेला लटररम्म किवी फलेका छन्। उनको करिब ५ रोपनी जग्गामा सयभन्दा बढी किवीका बोट छन्। किवी फलाएरै वर्षमा लाखभन्दा बढी रुपैयाँ भित्र्याउने गरेको कृष्णकमल बताउँछन्।
उनका छिमेकी अमृत राना मगरको घरमुनिको बारीमा पनि लटररम्म किवी फलेका छन्। बाँसका थाक्रामा फैलिएको बोटमा किवीका दाना प्रशस्तै देख्न सकिन्छ।
चाँपे गाउँकै दलबहादुर मगरले पनि अढाई रोपनी क्षेत्रफलमा किवी खेती गरेका छन्। किवीका एक सय ४० झाङ (बोट)मध्ये ३५ झ्याङले फल दिन थालेको उनले बताए।
अन्य किसान मानबहादुर राना मगर, रामबहादुर दर्लामी मगरजस्ता गाउँका २६ भन्दाबढी घरपरिवारले किवीको व्यावसायिक खेती गरेका छन्। चाँपेगाउँका घरैपिच्छे किवीको खेती रहेको गाउँका अगुवा किसानसमेत रहेका कृष्णकमलले बताए।
फलफूलको राजासमेत भनिने ‘किवी’ खेतीको सुरुवात यस गाउँमा कृष्णकमलले गरेका छन्। उनले हरेक वर्षजसो खेती विस्तार गरेर अहिले ७ रोपनी क्षेत्रमा र्पु याइसकेका छन्। पछिल्लो चार वर्ष उनले मात्रै होइन गाउँका हरेक घरधुरीले किवीको खेती गर्न थालेका छन्।
किवी खेती विस्तार भएर चाँपे गाउँ सबै घरधुरीमा किवी खेती हुने गरेको छ। सबैले बाँसको पिल्लर बनाएका थिए। अहिले किवीको थाक्राको रूपमा सिमेन्टको पिल्लर राखेका छन्।
कुनै बेला कोपी, आलु, मटरजस्ता तरकारी उत्पादनको क्षेत्रले नाम कहलिएको चाँपे गाउँ अहिले किवी खेती हुने पकेट क्षेत्रको रूपमा चिनिन थालेको छ। कृषि ज्ञान केन्द्र धनकुटाले पनि यो गाउँलाई जिल्लाकै किवी पकेट क्षेत्रको रूपमा घोषणा गरेको छ। सो कार्यालयले किसानलाई खेती विस्तारमा तीन लाख २५ हजार रुपैयाँ सहयोग गरेको थियो।
किवीको प्रमुख बजार हिले, धनकुटासहित पूर्वी तराईका बजार रहेको उनले बताए।
किवी फल चिसो हावापानीमा फल्ने प्रजाति रहेको कृषि विशेषज्ञ जीवन राईले बताए। समुद्री सतहबाट नौ सयदेखि २७ सय मिटर उचाइमा किवीको खेती हुने उनले बताए। पाकेको किवी फलको स्वाद हल्का अमिलो, गुलियो हुने भएकाले भिटामिन सी, ए र बी बढी मात्रा पाइने उनले बताए।

सम्बन्धित खवर