हजारको नोटको हात्ती फेरिने, अर्को वर्ष नयाँ नोटमा राम लक्ष्मणको तस्वीर राखिने

हजारको नोटको हात्ती फेरिने, अर्को वर्ष नयाँ नोटमा राम लक्ष्मणको तस्वीर राखिने

शुक्रबार ०३, असोज २०७६
हजारको नोटमा रहेको हात्तीको तस्वीर फेरिने भएको छ । नेपाली नोटमा रहेको हात्तीको फोटो नेपालकै हो वा होइन, पक्का नभएपछि हात्ती नै फेर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दशैंसम्म आइसक्नेछन् । ती हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्तिसारमा ८ वर्षअघि जन्मिएका हुन् ।
अहिले नोटमा छापिएको हात्तीलाई भने केही व्यक्तिले अफ्रिकी भनेका छन् । हात्तीकै विषयमा विद्यावारिधी गरेका नरेन्द्र प्रधान भने यसलाई एसियाली नै ठान्छन् । नोटमा छापिएका हात्तीको दाह्रा र कानले इण्डोनेशिया वरपरको सुमात्रा टापुमा पाइने हात्तीजस्तो देखिएको विज्ञहरु बताउँछन् । यद्यपि, पोट्रेट भएकाले यसको पुष्टि गर्न कठीन हुने डा. प्रधानको आँकलन छ ।
नयाँ नोटमा जुम्ल्याहा हात्तीको तस्वीर राख्न खोज्नुको कारण भने अर्कै छ । संसारमै दुर्लभ हुने जुम्ल्याहा हात्ती नेपालमा पाइएकाले त्यो दुर्लभतालाई समावेश गर्न खोजिएको हो । एसियाका नेपाल र थाइल्याण्डमा मात्रै हात्तीले जुम्ल्याहा बच्चा जन्माएको ‘रेकर्ड’ छ ।

सम्बन्धित खवर