बिहीबार ०२, असोज २०७६
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालन हुँदै आएका सम्पूर्ण यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो ।
मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए । काठमाडौँबाट मङ्गलबार बेलुका छुटेको सबै सवारी साधन सिन्धुली जिल्लाको खाङ्साङबेसीमा रोकिएको छ ।
दशैँको मुखमा यातायात सेवा अवरुद्ध भएपछि खोटाङबाट राजधानी तथा तराईका जिल्ला आवतजावत गर्ने यात्रुलाई समस्या भएको छ । जिल्लामा सञ्चालित यातायात सेवा अवरुद्धले दैनिक उपभोग्यवस्तु अभाव हुने सम्भावना देखिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।
हप्ता दिनदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश ग्रामीण सकडसमेत अवरुद्ध बनेको छ ।
दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक पूर्णरूपमा अवरुद्ध छ । सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा, बराहपोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने कुनै पनि सडकमा सवारी चल्न सकेका छैनन् ।
जन्तेढुङ्गा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक चार महीनादेखि ठप्प छ । यसअघिसम्म सञ्चालनमा रहेको दिक्तेल–बाक्सिला तथा दिक्तेल–ऐँसेलुखर्क सडकसमेत हप्ता दिनदेखि लगातार परेको वर्षाका कारण हौँचुरमा ठूलो पहिरो झरेपछि अवरुद्ध भएको जनाइएको छ ।
कालोपत्रको काम थालिएको मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा ४६ किलोमिटर सडक निर्माण कम्पनीले निर्वाधरूपमा सवारी साधन चल्ने वातावरण बनाउन नसक्दा अवरुद्ध बनेको स्थानीयवासीले बताएका छन् ।
वर्षाका कारण हिलो जम्दा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारकै सडकमा पैदलयात्रुलाई हिँड्डुल गर्नसमेत सकस भएको छ । दिक्तेलबजारको विभिन्न ठाउँमा जमेको हिलोमा कतिपय सवारी साधन घण्टौँ अड्किने गरेको छ । सडकमा जमेको हिलोमा सवारी साधन चलाउँदा हिलो उछिट्टिएर पैदलयात्रुले सास्ती खेप्नुपरेको छ ।
पूर्वी पहाडी जिल्ला खोटाङमा तीन विमानस्थल छन् । तीनवटै विमानस्थल अहिले अवरुद्ध छन् । दिक्तेलबजारबाट सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल पहिरोका कारण दुई वर्षदेखि अवरुद्ध बनेको हो । भर्खरै धावनमार्गमा कालोपत्र गरिएको लामीडाँडा र थामखर्क विमानस्थल लगातारको वर्षाका कारण अवरुद्ध भएको जनाइएको छ ।