कांग्रेसको अबरोध पछि प्रदेश १ को संसद बैठक असोज ५ गतेसम्म स्थगित

कांग्रेसको अबरोध पछि प्रदेश १ को संसद बैठक असोज ५ गतेसम्म स्थगित

२ आश्विन २०७६, बिहीबार
प्रदेश १ प्रदेशसभाको बुधबारको बैठक पनि प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संचालन हुन सकेन ।
प्रदेश सरकारले सदनमा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसका सांसद बैठकको सुरुमै उठेर विरोध गरेपछि संसद स्थगित भएको हो । मंगलबारको प्रदेशसभा बैठक पनि कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।
बुधबारको बैठकमा पनि मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक माथि सामाजिक समितिले दिएको प्रतिवेदन सहित पारित गर्ने कार्यसूची थियो । कार्यसूची अनुसार सभामुख प्रदीपकुमार भण्डारीले बैठक संचालन सुरु भएको जानकारी गराउना साथ कांग्रेसका सांसदहरुले उठेर विरोध गरे । सभामुखले प्रक्रिया अनुसार अगाडि बढ्नुपर्ने भन्दै सांसदहरुलाई बस्न आव्हान गर्दा पनि नमानेपछि संसद वैठक डेढ मिनेटमै स्थगित भएको थियो ।
कांग्रेसले विधेयकप्रति आफ्नो असहमति रहेको र असहमतिको विषयमा जानकारी दिँदा समेत सभामुखले जबर्जस्ती कार्यसूचीमा विधेयक पारित गर्ने उल्लेख गरेको भन्दै कार्यसूची नसच्याए बैठक चल्न नदिने बताउँदै आएको छ ।
सरकारले भने प्रतिपक्षी दलले भनेका कुरा समेटिएको भएपनि कुरा नबुझेर विरोध गरेको टिप्पणी गरेको छ । सरकारले अधिकतम सहमतिका साथ अगाडि बढ्ने बताउँदै आएको छ संसदको अर्को बैठक असोज ५ गते बस्नेगरी टुंगिएको छ ।

सम्बन्धित खवर