प्रदेश सरकारको संविधान दिवस मनाउने अन्तिम तयारी, १० हजार बढी सहभागिता रहने

प्रदेश सरकारको संविधान दिवस मनाउने अन्तिम तयारी, १० हजार बढी सहभागिता रहने

२ आश्विन २०७६, बिहीबार
१ नम्बर प्रदेश सरकारले भव्यताका साथ संविधान दिवस मनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक तथा धर्म्निरपेक्षतासहितको संविधान जारी हुनु उपलब्धीपूर्ण भएको भन्दै सरकारले संविधान दिवसलाई भव्यताका साथ मनाउन लागेको हो । गत भदौ १६ गते प्रदेशका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा संविधान मूल समारोह समिति गठन भएको थियो ।
समितिको निर्देशनअनुसार प्रचारप्रसार, मञ्च व्यवस्थापन तथा सजावट, ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापनको काम भइरहेको जनाइको छ । संविधान दिवसका दिन १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका महत्वपूर्ण स्थानहरुमा झण्डा राख्ने, ५ हजार थान हातेझण्डा निर्माण, होर्डिङ बोर्ड राख्ने तथा सर्वसाधरणको सहभागिताका लागि प्रचारप्रसारको काम भइरहेको छ ।
असोज ३ गते बिहान आदर्श मावि विराटनगरबाट बिहान ७ बजे प्रभात फेरि गरिने र त्यसपछि सहिद रंगशालामा विशेष समारोह आयोजना गर्ने प्रदेश सरकारको तयारी छ । उक्त समारोहमा सगरमाथा टिन्स क्लव, विभिन्न कवाज र झाँकी प्रदर्शन गरिनेछ । सोही अवसरमा राष्ट्रिय गानका रचयिता व्याकुल माइला, धाविका मीरा राई र आरोहि कामीरीता शेर्पालाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम पनि छ ।
वर्तमान संविधानको महत्व र गरिमा बढाउनका लागि यसखालका कार्यक्रम आयोजना गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको भनाइ छ ।
उक्त समारोहमा १० हजार बढी सहभागिता रहने आयोजकको दाबी छ ।

सम्बन्धित खवर