प्राविधिक विश्वविद्यालयमा अड्कियो बजेट अधिवेशन

प्राविधिक विश्वविद्यालयमा अड्कियो बजेट अधिवेशन

आश्विन १, २०७६
सामाजिक विकास मन्त्रालयले ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न विधेयकमा प्रदेशसभाको बजेट तथा वर्षे अधिवेशन अड्किएको छ । चालू अधिवेशनमा प्रदेश सरकारले ल्याएको विधेयक सबै पारित भइसकेको र यो एउटा विधेयकमा मात्रै अधिवेशन अड्किएको हो ।
सरकारले विधेयक पारित गरेपछि मात्रै अधिवेशन अन्त्य गर्न खोजेको छ भने प्रमुख प्रतिपक्षीले अहिलेकै अवस्थामा विधेयक पारित हुन नदिने अडानमा छ ।
सामाजिक विकास समितिले बहुमतले पारित गरेको उक्त विधेयकको प्रतिवेदनलाई कार्यसूचीबाट हटाउन माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले बुधबार दोस्रो दिन प्रदेशसभा बैठक अवरोध र्गयो । सदन सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्ना सिटबाट उठेर विरोध जनाएका थिए ।
कांग्रेस सांसदको विरोधका कारण सभामुख प्रदीपकुमार भण्डारीले असोज ५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । प्रदेश १ मा विधेयक निर्माणमा असहमति जनाउँदै सदन अवरुद्ध भएको यो पहिलो पटक हो ।
कांग्रेका प्रमुख सचेतक केदार कार्कीले नेकपाको स्कुल विभाग र जनवादी शिक्षा दिन्छ भन्ने कुरा नलेखिए पनि मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकमा त्यस्तै व्यवस्था रहेकोले यसलाई फिर्ता नगरे विरोध कायम रहने बताएका थिए ।
सामाजिक विकास समितिले सोमबार उक्त विधेयक बहुमतले पारित गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक कार्कीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले विश्वविद्यालयसम्बन्धी यो विधेयक नेपालकै इतिहासमा नयाँ किसिमको भएको दाबी गरे ।
कान्तिपुर

सम्बन्धित खवर