झापामा रहेको विप्लवको गोप्य कार्यालयमा प्रहरीको छापा

झापामा रहेको विप्लवको गोप्य कार्यालयमा प्रहरीको छापा

२०७६ भदौ ३१ गते
नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ ।
बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो ।
सोमबार दिनभर १ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् ।
पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ ।
यो गिरफ्तारीसँगै समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन् ।
प्रहरीले कार्यालयबाट दुई वटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको छ । उनीहरुबाट बरामद दस्तावेजले बिर्तामोडका थुप्रै व्यवसायीलाई चन्द माग गरिएको खुलेको छ ।

सम्बन्धित खवर