मङ्गलबार ३१, भदौ २०७६
नारायणी नदीमा दशैंअघि नै पानीजहाज सञ्चालनमा आउने दावी गरिएको छ ।
रिभर क्रुज सीप (पानीजहाज) निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले दैनिक १८ घन्टासम्म काम गरी दशैंअघि नै जहाज सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
प्रबन्ध निर्देशक रामचन्द्र कँडेलकाअनुसार पानीजहाज निर्माणको काम अन्तिम चरणमा भइरहेको छ ।
पानीजहाज निर्माणका लागि करिब २५ करोड खर्च अनुमान गरिएको छ । भारतको ग्रान्ड्युर मरिन इन्टरनेसनल कम्पनीले नर्वेली प्रविधिमा पानीजहाज निर्माण गरिरहेको छ ।
जहाजमा एकपटकमा २ सय जना अट्नेछन् । जहाज तीन तला, १ सय फिट लम्बाइ र २५ फिट चौंडाइको हुनेछ । तीन सिफ्टमा क्रुज सञ्चालनको तयारी भइरहेको छ ।
जहाज निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ग्रान्ड्डुअरले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुरलगायत देशमा सफलतापूर्वक काम गरिसकेको छ ।
पानी जहाजले ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट–गोेलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको छ । पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाटसम्मको यात्रा पूरा गर्न तीन घण्टा लाग्नेछ ।
