आफ्नै खर्चमा गैँडा गणना गरिने

आफ्नै खर्चमा गैँडा गणना गरिने

भाद्र २९, २०७६ आईतवार
यस पटक गैँडा गणनाको सम्पूर्ण खर्च सरकारले नै बेहोर्ने भएको छ । अघिल्ला गणनामा दातृ निकायको भरपर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग यस वर्ष आफ्नै खर्चमा गैँडा गणना गर्न लागेको हो । गैँडा गणाना आगामी चैत १ गतेबाट सुरु हुनेछ ।
विभागका उपमहानिर्देशक रामचन्द्र कँडेल गँैडा गणनाका लागि एक करोड १० लाख रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । “यो वर्ष चैत १ गतेबाट गैँडा गणना गर्ने गरी तयारी गरिरहेका छौँ”, कँडेलले भन्नुभयो, “हामीले यो पटकदेखि गणनाको सम्पूर्ण खर्च नेपाल सरकारले नै गर्ने गरी बजेट विनियोजन गरेको छौँ ।”
अघिल्ला गणनामा विभागलाई विश्व वन्यजन्तु कोष, नेपाल प्रकृति संरक्षण कोष र जिओेलोजिकल सोसाइटी अफ नेपालजस्ता दातृ निकायले सहयोग गर्दै आएका थिए । अघिल्लो वर्ष दातृ निकायहरूको सहयोग नजुट्दा रोकिएको गैँडा गणना यो वर्ष आफ्नै लगानीमा गर्न लागिएको हो । उपमहानिर्देशक कँडेल केही सहयोगी निकायबाट प्राविधिक सहयोग भने गणनामा लिन सकिने बताउनुहुन्छ ।
नेपालमा पछिल्लो पटक सन् २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाअनुसार ६४५ वटा गैँडा नेपालमा छन् । यसमध्ये गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा छन् । गैँडा चितवनका अलवा पर्सा वन्यजन्तु आरक्षण, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पनि छन् । विश्वमै सङ्कटापन्न सूचीमा रहेको एकसिङ्गे गैँडा अहिले नेपाल र भारतमा मात्रै पाइन्छ ।
गैँडाको सङ्ख्यासँगै संरक्षित क्षेत्रको पारवहन क्षमता र बासस्थानको अवस्थाका बारेमा जानकारी लिन गैँडा गणना गर्ने गरिन्छ । सन् २००५ सम्म पाँच वर्षको अन्तरालमा गैँडा गणना हुँदै आएको भए पनि यसपछि गैंँडाको चोरी सिकार अत्यधिक बढेको हुँदा गैँडाको वास्तविक सङ्ख्या चाँडो पत्ता लगाउन पाँच वर्षको सट्टा तीन÷तीन वर्षको फरकमा गणना गर्नुपर्ने नीति बनेको छ ।
यस पटक भने अघिल्लो गणना सकिएको पाँच वर्षपछि गणना गर्न लागिएको हो  । चितवनमा सन् १९५० देखि गैँडाको तथ्याङ्क भेटिए पनि औपचारिक गणना गर्न लागिएको निकुञ्ज स्थापना पछि मात्रै हो । सन् १९९४ मा पहिलो पटक औपचारिक रूपमा गरिएको गैँडा गणनामा चितवन निकुञ्जमा ४४६ गैँडा भेटिएका थिए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल आफूहरू गणनाका लागि तयारीमा जुटेको बताउनुहुन्छ ।
सन् २०१५ को गैँडा गणना यता चितवन निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै कालगतिले ११९ वटा गँैडा मरे । यही अवधिमा चोरी सिकारीले दुईवटा गैँडा मारेको निकुञ्जसँग तथ्याङ्क छ । यसै अवधिमा चितवनबाट चारवटा गँैडा चीन सरकारलाई उपहारस्वरूप पठाइएको छ । शुक्लाफाँटा र बर्दिया निकुञ्जमा गरी १२ वटा गैँडा स्थानान्तरण गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार, २०७३ सालको साउन अन्तिम साता आएको बाढीले बगाएकामध्ये १० वटा गैंँडा भारतबाट उद्धार गरी ल्याइए पनि अझै केही गैँडा उतै रहेको अनुमान छ । भारतको वाल्मीकि टाइगर रिजर्भ र डिभिजन फरेस्टमा तत्काल तीनवटा गैँडा भेटिए पनि त्यसलाई नेपाल फर्काउन सकिएको थिएन  । यो तथ्यले पनि गैँडाको यकिन अवस्था पहिचान गर्न गणना जरुरी रहेको बताइएको छ ।
हात्तीमा बसेका गणकहरूले एक–एक गरी गैँडाको विवरण लिई यसको गणना गरिने प्रक्रिया नै गैँडा गणना हो । यसका लागि गणकहरू पूरै निकुञ्ज तथा संरक्षित क्षेत्र घुम्ने गर्दछन् । “गैडा निकुञ्जभित्र एक–एक गरेर गणना गर्ने हो”, निकुञ्जका प्रमुख सरक्षण अधिकृत ढकालले भन्नुभयो ।
गोरखापत्र

सम्बन्धित खवर