भाद्र २६, २०७६
नेपाली कामदारका लागि लामो समय देखि बन्द रहेको रोजगारी खुलाउन मलेसिया सरकार सकारात्मक देखिएको छ । श्रम सम्झौतालाई कार्यान्वयन गर्न मलेसियामा बसेको दुवै देशका उच्च अधिकारीहरु संलग्न संयुक्त कार्यदल बैठकमा मलेसिया सरकारका प्रतिनिधिले ग्रिन सिग्नल दिएका हुन् ।
नेपाली कामदारको प्रमुख गन्तव्य मानिएको मलेसिया झन्डै १५ महिनादेखि बन्द छ । मलेसिया जाने कामदारको बायोमेडिकल प्रणालीअनुसार स्वास्थ्य परीक्षण गर्ने संस्थाको विषयमा सहमति हुन नसक्दा दुई दिनका लागि बोलाईएको बैठक लम्बिएको छ । बैठक भोली पुनस् बस्ने श्रम मन्त्रालयले जनाएको छ ।
बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले दुई पक्ष सम्झौतालाई कार्यान्वयन गर्ने विषय सकारात्मक रुपमा अघि बढेको बताउनुभयो । सकारात्मक र सौहार्दपूर्ण हिसाबले बैठक भइरहेको र दुबै पक्षबीच सहमतिको नजिक पुगेको उहाँले बताउनुभयो ।
नेपालले गत साउन २१ गते नै स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै ३६ वटा पुराना स्वास्थ्य संस्था सहित १ सय २२ वटा संस्थाको प्रस्तावित सूची पठाएको थियो । नेपालले पठाएको स्वास्थ्य संस्थाको पत्रको जवाफ दिँदै एक साताअघि मलेसियाले नयाँ स्वास्थ्य संस्था थप्न तयार भएको जनाएको थियो ।
रेडियो कान्तिपुर
