रंगेली
हुलाकी राजमार्ग विस्तार गर्दा रंगेली नगरपालिकाको घरजग्गा भत्किएको तर क्षतीपूर्ती नपाएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।
स्थानीयको सहमतीबिनै सडक विस्तार थालिएको स्थानियको गुनासो छ । २ सय ५० घर विस्थापित हुने र २० परिवार पूर्ण रुपमा घरबारविहिन हुने भएपछि आन्दोलनमा उत्रिनुपरेको नागरिक समाजका रामनारायण मण्डलले बताएका छन् ।

स्थानीयवासी विकास विरोधी नभएको बताउँदै उनले विकासको नाममा स्थानीयलाई विस्थापित नगर्न आग्रह गरेका छन् ।
भत्किएका भौतिक संरचनाहरुको क्षतिपूर्ति नदिए सम्म सडक विस्तार गर्न नदिने भनी नागरिक समाजले अडान लिएको छ ।
निजी सम्पति अधिकरण गर्दा मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने संविधानै उल्लेख भएकोले बलजफती भौतिक संरचना भत्काए प्रतिकार गर्न पछि नहट्ने उनले बताए ।
विगतमा ६५ फिट जग्गा दिने सहमति भएको थियो तर स्थानीयको भावनाविपरीत सरकारले १४० फिटको सडक बनाउने भएपछि स्थानीय आन्दोलित भएका हून । मेयर दिलीप बगडियालेसमेत मुआब्जा दिलाउन पहल नगरेको गुनासो स्थानियवासी माधव गौतमको छ ।
हुलाकी राजमार्ग विस्तारका कारण आमतोलादेखि मधुवनी स्कुलसम्मको रंगेली ३,४,६,७ र ८ नम्बर वडाअन्तर्गत ४ दशमलव ९ किलोमिटरका दुई सय पचास घर प्रभावित पर्नेछन् । जसमा १६५ विघा जमिन सडकमा जानेछ ।