२५ भाद्र २०७६,पथरी
पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–४ थाक्लेमा नेपालकै अग्लो ७४ फिटको बुद्धको मूर्ति निर्माण गर्न सुरु छ । वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको १५ लाख रुपैयाँको लगानीमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्याउने काम भएको छ ।
झण्डै आठ करोड रुपैयाँको लगानीमा निर्माण हुनलागेको उक्त बुद्धको मूर्तिसहितको पार्कका लागि बजेट अपुग भएको हुँदा विभिन्न निकायमा माग गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो । उनले एक वर्ष्भित्रमा बुद्धको मूर्ति र पार्क निर्माण सक्ने गरी कामलाई अगाडि बढाइएको जानकारी दिएका छन् ।
पूर्वको प्रसिद्ध मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा पर्ने यो बुद्धको पार्क निर्माण भएमा आन्तारिक तथा बाह्य पर्यटक, भक्तजनहरु आउने उहाँले बताउनुभयो । यस स्थानबाट पूर्वको पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम लगायतका जिल्लाको दृश्यावलोकन गर्न सकिनेछ ।
