प्रदेश सरकारको पहिलो गौरवको आयोजनामा विराटचोक घिनाघाट सडक, मुख्य मन्त्रीले गरे सिलान्यास

प्रदेश सरकारको पहिलो गौरवको आयोजनामा विराटचोक घिनाघाट सडक, मुख्य मन्त्रीले गरे सिलान्यास

मोरङ, प्रदेश सरकारको पहिलो गौरवको आयोजनाका रुपमा विराटचोक घिनाघाट सडक परेको छ । यो सडक चार लेनको हुनेगरी विस्तार गर्नका लागि मुख्यमन्त्री शेरधन राईले सोमबार सिलान्यास गर्नुभएको छ ।

विराटचोक घिनाघाट सडक खण्ड २२.७ किलोमिटर सडकलाई चार लेनको सडकको रुपमा निर्माण गर्न लागिएको हो । ग्रामथान गाउँपालिकाको नेताचोकमा एक कार्यक्रमका बिच मुख्यमन्त्री राईले सिलान्यास गर्नुभएको हो । सो सडकको निर्माण सम्पन्न गर्नका लागि १ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको छ ।

तीन प्याकेजमा निर्माण सम्पन्न गर्नेगरी २ प्याकेजमा ठेक्का सम्झौता भैसकेको छ । गएको असार २९ गते भएको ठेक्का सम्झौताअनुसार निर्माणको काम श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण निर्माण सेवाले गर्नेछन् ।

निर्माण कम्पनीले २०७८ असार मसान्तभित्रमा काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

सम्झौता भए पनि अहिले निर्माण सामग्री गिट्टी र बालुवाको उत्खननमा रोक लागेको हुनाले असोज १ गतेदेखि कामले गति लिने श्रेष्ठले बताउनु भयो । १ अर्ब ६० करोडको टेण्डर आह्वान गरिएकोमा १ अर्ब ४० करोडको ठेक्का स्वीकृत भएपछि सडक शिलान्यास भएको हो । सडकको केन्द्रबाट ३५÷३५ फिट दुईतर्फ बढाएर सडक विस्तारको काम हुनेछ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सुरु भएको सडक प्रदेशकै नमुना बन्ने स्पष्ट पनि पार्नुभयो ।

मुख्यमन्त्री राईले नयाँ संरचना र नयाँ व्यवस्थामा सञ्कुचित सोच र साँघुरो सोचाइको घेराबाट माथि उठ्नु पर्ने बताउनु भयो । त्यही घेरालाई तोड्दै सरकारले नयाँ संरचना र विकासका कामलाई अगाडि बढाएको उहाँले दावी गर्नुभयो ।

चार लेनको सडक निर्माणले मोरङका दुई पालिकालाई मात्र नभइ झापा, इलाम, पाँचथर र ताप्लेजुङसम्मलाई सुविधा पुग्ने मुख्यमन्त्री भट्टराईले बताउनुभयो । अब बन्ने सडक प्रदेशको नमुना सडक हुने भन्दै त्यसका लागि गुणस्तर र निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । अब बन्ने सडकमा गुणस्तरमा कमी आएमा निर्माण कम्पनीलाई कार्वाही हुनेछ त्यसको परिणाम ठेकेदार कम्पनीले भोग्न तयार हुनुपर्नेमा राईले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खवर