भदौ २४, २०७६
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गरेका छन्। प्रधानमन्त्रीद्वय ओली र मोदीले मंगलबार क्रमशः काठमाडौंको सिंहदरबार र दिल्लीको हैदरावाद हाउसबाट मोतिहारी(अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको रिमोटबाट उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रम पछि भिडियो कन्फ्रेन्समार्फत ओली र मोदीले आफ्ना धारणा राखेका थिए। प्रधानमन्त्री ओलीले आजबाट नै नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको जानकारी गराएका थिए। ओलीले भने, ’ट्रेड र ट्रान्जिटलाई ध्यानमा राखेर गरिएको यो महत्वपूर्ण परियोजना हो।
भारतले नेपालमा विभिन्न परियोजना संयुक्त रूपमा निर्माणका लागि अगाडि बढाएको र तिनलाई सम्पन्न गर्नका लागि भूमिका खेल्न पनि प्रधानमन्त्री ओलीले मोदीलाई आग्रह गरेका थिए।
उनले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए। जवाफमा मोदीले नेपाल( भारत सम्बन्ध बलियो बनाउनका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने बताएका थिए। उनले भने, ’हाम्रो साझेदारी अझ बलियो बनाउने र नयाँ नयाँ क्षेत्रमा लगानी गर्नका लागि हामी एकसाथ छौँ। विभिन्न परियोजना समयमा पूरा गर्नमा हामी दुवै सरकारको प्राथमिकता रहेको छ।
यो परियोजना सम्पन्न भएकोमा आफूलाई खुसी लागेको मोदीले बताएका थिए। ’यो काम नेपालको सामान्य नागरिकको भलाईको लागि भएको हो। यसमा हामीलाई साँक्षी र भागीदार बन्ने मौका मिलेकोमा सन्तोष मिलेको छ’, मोदीले भने। मोदीले नेपालमा विविध क्षेत्रमा साझेदारी बढाउन आफू र भारत सरकार तयार रहेको बताएका थिए।
उनले नेपालमा लगानी गर्न भारत प्रतिबद्ध रहेको बताएका थिए। उनले नेपाल(भारत सम्बन्धको आधार जनता भएको र राजनीतिक तहमा पनि अभूतपूर्व सम्बन्ध रहेको बताएका थिए। प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै मोदीले आफू छिट्टै नेपाल आउन चाहेको पनि बताएका थिए।







