२३ भदौ २०७६
विराटनगर(७ मा रहेको ॐ जेके पानी उद्योगले प्रशोधन गरेको पानीमा मान्छेको दिसामा पाइने ‘कोलीफर्म’ जीवाणु रहेको पुष्टि भएको छ । उद्योगले बिक्रीका लागि बजारमा लैजान तयारी अवस्थामा राखेको पानीमै मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने ‘कोलीफर्म’ भेटिएको हो।
प्रशोधित ‘एच टु’ ब्राण्डको पानीमा ‘कोलीफर्म’ भेटिनुलाई उद्योगको चरम लारपबाहीका रुपमा लिइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत मंगलबार अनुगमन गर्दा शौचालयको सेफ्टी ट्यांक (हज) सँगै जोडर उद्योगको बोरिङ मेसिन राखेको फेला परेको थियो।
त्यस लगत्तै उद्योगलाई उत्पादन र बिक्रीमा रोक लगाएर पानीको नमुना संकलन गर्दै कार्यालयले ल्याब परीक्षणका लागि लगेको थियो। आइतबार आएको परीक्षण रिपोर्टका बारेमा जानकारी दिँदै कार्यालयका प्रमुख प्रमोद कोइरालाले मानिसको स्वास्थ्यका लागि असर गर्ने ‘कोलीफर्म’ जीवाणु प्रशोधित पानीमा रहेको पुष्टि भएको बताए।
उनले अन्य उद्योगले पनि पानी प्रशोधनका क्रममा लापरबाही गरिरहेको जानकारी आएका कारण तत्काल अनुगमन गरेर सबैलाई कारवाही अघि बढाइने बताए।
प्रशोधित पानीमा ‘कोलीफर्म’ भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन २०२३ खाद्य नियमावली बमोजिम उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गर्दै आएको छ।
उद्योगका सञ्चालकहरूको बयान लिने काम कार्यालयले सकेपछि प्रक्रियागत रुपमा प्रशासनमा मुद्दा दर्ता गरिने कोइरालाले बताए। उक्त मुद्दामा दोषी ठहर भए ५ देखि १० हजार रुपैयाँसम्म जरिवाना अथवा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
अन्नपुर्ण